तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण

मकवानपुर । गणतन्त्र दिवस २०८१ को अवसरमा सोमबार हेटौँडामा वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटौँडा–८, स्थित चिल्ड्रेन पार्कमा वृक्षारोपण गरिएको हो ।

त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्रले संस्थागत गरेको सङ्घीयता अभ्यास भएको छोटो समयमा तीनै तहको सरकार संवृद्ध हुँदै गएको बताउनुभयो । उहाँले सङ्घीयतापछि सेवा प्रवाहका तथा विकास निर्माणका काम नयाँ ढङ्गले अघि बढेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले गणतन्त्र दिवसको अवसर पारेर मुख्यमन्त्री, प्रमुख सचिव लगायतको ट्यागसहित रोपिएको बिरुवा स्थानीय वडा कार्यालयले महत्वका साथ अपनत्व लिई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

करिब दश कठ्ठा क्षेत्रफलमा फैलिएको चौरमा एक सय भन्दा बढी विभिन्न जातका बिरुवा रोपिएको वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा प्रदेशका मन्त्री, सचिव लगायतको सहभागिता रहेको थियो ।

दिवसकै अवसरमा रक्तदान तथा स्वास्थ्य परीक्षण
गणतन्त्र दिवस–२०८१ कै अवसरमा सोमबार हेटौँडामा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको आयोजना तथा हातेमालो बचत सहकारी संस्थाको सहयोगमा कार्यक्रम भएको हो ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा हेटौँडा स्थित बुद्ध चोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।

रक्तसञ्चार केन्द्रमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, प्रवक्ता डा.खगेश्वर गेलाल, सूचना अधिकारी डा.रविन भुसाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नसर्ने रोगहरू मधुमेह, रक्तचापको ८० जनाले निःशुल्क परिक्षण समेत गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button