तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश आन्तरिक स्रोतबाट नै आत्मनिर्भर हुनको लागि सङ्घर्षरत छ’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश आन्तरिक स्रोतबाट नै आत्मनिर्भर हुनको लागि सङ्घर्षरत रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवसको सन्दर्भमा पोखरामा सोमबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उहाँले कोरोनाका कारण शिथिल भएको अर्थतन्त्र पुनः जागृत हुन थालेको भन्दै प्रदेश आन्तरिक स्रोतबाट नै आत्मनिर्भर हुन सङ्घर्षरत गरिरहेको बताउनुभयो ।

नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गरेको बताउँदै मुख्यमन्त्री अधिकारीले मताधिकार पाउन १८ वर्ष लाग्ने सन्दर्भ कोट्याउँदै नागरिकता पाउन १६ वर्ष लाग्ने जनाउनुभयो ।

जनताका अपेक्षा बढी र साधनस्रोत कम हुँदा अपेक्षाकृत प्रगति हुन नसकेको जस्तो देखिए पनि आमूल परिवर्तनको दिशामा अगाडि बढेको उहाँले जिकिर गर्नुभयो । उहाँले सुशासनप्रति आफ्नो बढी चासो रहेको जनाउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले आफूहरूले नीति, नियम, ऐन, कानून र योजना अनुसार नै कार्य गर्ने गरेको बताउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश अध्यक्ष नवराज ओझाले स्थानीय निकायका कारण गाउँ–गाउँ विकास पुगेको दाबी गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको राजनीतिक प्रणालीलाई बहुलवाद प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गराएको बताउनुभयो ।

शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विना सिलवालले गाउँपालिका तथा वडाहरूमा महिला सशक्तीकरणका मुद्दा तथा अपाङ्गताका मुद्दालाई संवेदनशील भएर बुझ्न र हेर्न थालिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button