तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न उपयुक्त : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा रहेका रेडियो नेपालका संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न उपयुक्त हुने बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी नेतृत्वको टोलीसँगको भेटघाटमा मुख्यमन्त्री कँडेलले प्रादेशिक प्रसारणका लागि कार्यक्रम सञ्चालन, उत्पादन तथा मेशिनरी सामाग्रीमा प्रदेश सरकारले स–साना रकम सहयोग गर्नुको सट्टा कर्णालीमा रहेका रेडियो नेपालका संरचना नै प्रदेश सरकारलाई हस्तान्तरण गर्दा उपयुक्त हुने धारणा राख्नुभयो ।

उहाँले भौगोलिक विविधता रहेको कर्णालीमा अहिले पनि रेडियोको महत्व कायमै रहेकाले संघीय सरकारको अधिनमा रहेको रेडियो नेपालका कर्णालीमा रहेका संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्दा व्यवहारिक तथा आर्थिक हिसाबले पनि उपयुक्त हुने जनाउनुभयो ।

आम नागरिकलाई सुशिक्षित गराउँदै सूचना तथा ज्ञान गुण र मनोरञ्जन गराउने कार्यमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले प्रदेश सरकार रेडियो नेपालसँग जतिबेला पनि हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा कार्यकारी निर्देशक केसीले कर्णालीमा रेडियो नेपालको एउटा प्रादेशिक प्रसारण केन्द्रसँगै आठ वटा एफएम रिले स्टेसनहरू मार्फत रेडियो नेपालले प्रसारण सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले दैनिक ४ घण्टा प्रादेशिक प्रसारण गर्दै आइरहेको सुर्खेत प्रसारण केन्द्रका लागि आगामी आर्थिक वर्षदेखि सञ्चालन हुने गरी कार्यक्रम उत्पादन प्रस्तावसहित प्रसारण सुदृढीकरणको योजनाबारे मुख्यमन्त्री कँडेलसँग छलफल गर्नुभएको थियो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक (इन्जिनियरिङ) कृष्णचन्द्र पौडेल, योजना निर्देशक पुष्करराज गौतम, व्यापार उपनिर्देशक पुस्कर बराल, प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका वरिष्ठ प्राविधिक अधिकृत नरेशसिंह थापा लगायतको टोलीले कर्णालीका मुख्यमन्त्री कँडेलसँग भेटघाट गर्नुका साथै समसामयिक विषयवस्तुमा छलफल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button