तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चालक समितिबाट रेडियो नेपालका कार्यकारी निर्देशक केसीको बिदाई

काठमाडौँ । रेडियो प्रसार सेवा बिकास समिति (रेडियो नेपाल) सञ्चालक समितिले रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीलाई बिदाई गरेको छ ।

सञ्चालक समितिको आज बसेको बैठकले कार्यकारी निर्देशक केसीलाई बिदाई गरेको हो ।

२०४९ साल पुसदेखि निरन्तर रेडियो नेपालमा कार्यरत रहनुभएका केसी २०७७ साउन १२ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक केसीलाई बिदाई गर्नुहुँदै उहाँको कार्यकालमा निवृत्तिभरण (पेन्सन) कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि–२०८१, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका–२०८१ लगायतका नीति नियम निर्माण भई कार्यान्वयनमा आएको बताउनुभयो ।

अध्यक्ष सुबेदीले हाल ९४ प्रतिशत जनसङ्ख्यासम्म रेडियो प्रसारण पहुँच पुर्‍याउनमा कार्यकारी निर्देशक केसीको भूमिका उल्लेखनीय रहेको स्मरण गर्नुभयो ।

बिदाइका अवसरमा बोल्नुहुँदै कार्यकारी निर्देशक केसीले आफ्नो कार्यकाल भएका गतिविधिका बारेमा सञ्चालक समितिलाई जानकारी गराउनुभयो ।

उहाँले रेडियो नेपाल सञ्चालनका लागि अति आवश्यक संस्थागत कानूनी आधार रेडियो प्रसार सेवा विकास समिति, कर्मचारी सेवा शर्त नियमावली २०७७ नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालबाट अवकाश प्राप्त कर्मचारीहरूको व्यवस्थापनको लागि रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) निवृत्तिभरण (पेन्सन) कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत भएको, विपद, व्यवस्थापन कार्यमा सहयोगको लागि आवश्यक रेडियो सूचना प्रणाली Emergency Warning System in Radio Broadcasting लागु हुने क्रममा रहेको, चार वर्ष अघि रेडियो नेपालको प्रसारण पहुँच ८५ प्रतिशत जनसङ्ख्यामा रहेकोमा हाल ९४ प्रतिशत जनसङ्ख्यासम्म पुर्याई उल्लेखनीय रुपमा प्रसारण पहुँच वृद्धि गरिएको, चार वर्षअघि एफ.एम. रिले प्रसारण केन्द्रको सङ्ख्या २३ मात्र रहेकोमा हाल देशै भरीका सातै प्रदेशमा थप रिले स्टेसनहरूको स्थापना भई ३३ वटा एफ.एम. रिले स्टेसनहरू सञ्चालनमा रहेको सञ्चालक समितिलाई जानकारी गराउनुभयो ।

त्यस्तै, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८१ स्वीकृत भई सञ्चालनमा आएको, ४ वर्ष अघि रेडियो नेपालबाट २१ भाषामा समाचार प्रसारण हुँदै आएकोमा बज्जिका, राजवंशी र बैतडेली भाषा थप गरी हाल २४ भाषामा समाचार प्रसारण शुरु भएको, रेडियो नेपाललाई ४ वर्ष अघि नेपाल सरकारबाट प्राप्त हुने चालु अनुदान १६ करोड रहेकोमा चालु आ.व. २०८०÷८१ मा चालु अनुदान ३४ करोड ८७ लाख पुर्याउन सफल भएको, कर्मचारीहरूको वृत्ति विकासका लागि कार्य सम्पादन मूल्याङ्कन बढुवा, आन्तरिक र खुला बढुवा प्रतियोगितालाई नियमित रुपमा सञ्चालन गर्दै आएको , रेडियो नेपाललाई जनस्तरसम्म पुयाउन स्थलगत मुद्दाहरूमा आधारित रेडियो कार्यक्रम उत्पादन गरी सातै प्रदेशका विभिन्न स्थानहरूमा पुगी रेकर्ड गरी केन्द्रीय प्रसारणबाट प्रसार गर्ने व्यवस्था गरेको, नेपाल सरकारको प्रसारण नीति अनुरुप रेडियो नेपालका प्रसारण सामग्रीहरूलाई सार्वजनिक प्रसारण उन्मुख बनाएको पनि बताउनुभयो ।

उहाँले रेडियो नेपालको आय आम्दानी वृद्धि गर्न डिजिटल प्लेटफर्मको व्यापार दररेट निर्माण गरि व्यापार निर्देशिका २०७७ जारी गरेका, विराटनगरमा स्थापना भएको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामलाई पूर्ण रुपमा सञ्चालन गरी ई– लाइब्रेरी, रेडियो म्युजियम, सङ्गीत प्रशिक्षण, वृत्तचित्र प्रदर्शनी, सञ्चारकर्मीहरूको दक्षता अभिवृद्धि तालिमलगायत महानगर एफ.एम. प्रसारण शुरु गरी राजवंशी भाषामा समाचार प्रसारण शुभारम्भ गराइएको, रेडियो नेपालको चल÷अचल सम्पत्तिको अभिलेखीकरण गरी व्यावसायिक कार्य योजना अनुरुप चल ÷ अचल सम्पत्तिको परिचालन गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय गराइएको, रेडियो नेपालको प्रसारणलाई डिजिटल प्रविधिमा लैजान DRM रेडियोको प्रसारण आरम्भ गरिएको, रेडियो नेपालका श्रव्य सामग्रीलाई डिजिटल प्लेटफर्ममा राखी थप आयआर्जन गर्न OTT App निर्माण गरिएको, रेडियो नेपालका पुराना हजारौँ श्रव्य सामग्रीहरूलाई चिरकाल पर्यन्त संरक्षण र संवर्द्धन गर्न डिजिटाइजेशन प्रणाली स्थापना गरी हालसम्म ५३ हजारभन्दा बढी श्रव्य सामग्रीहरूलाई डिजिटल स्वरूपमा रूपान्तरण गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा कार्यकारी निर्देशक केसीले रेडियो नेपालको प्रसारण सेवालाई प्रविधि मैत्री बनाउने क्रममा Online News Portal, Radio Nepal App र Social Media बाट प्रसारण गर्ने गराउने तथा हरेक प्रदेशको प्रसारणलाई अलग अलग सुन्न सक्ने व्यवस्था मिलाइएको , केन्द्रको कार्यक्रम प्रदेशसम्म पुर्‍याउनका लागि हरेक वर्ष सेटलाईट खर्च तिर्नुपर्ने बाध्यतालाई हटाई NTV को Lease Line प्रयोग गर्ने गरी निःशुल्क Band Width उपयोग गर्न सक्ने गरी सहमति कायम गरेको, रेडियो नेपालको दैनिक प्रसारण र कर्मचारी व्यवस्थापनका लगि आवश्यक रेडियो नेपालको अल्पकालिन / दीर्घकालीन कार्य योजना २०७७, सञ्चारग्राम स्थापना तथा सञ्चालन निर्देशिका २०७८, समावेशी कार्यक्रममा भाषा थप गर्ने मापदण्ड २०७९, दीर्घ सेवा पदक तथा पुरस्कार वितरण कार्यविधि २०७९, आधुनिक गीत छनौट तथा मूल्याङ्कन आधार २०७९, देशव्यापी श्रोता सर्वेक्षण प्रतिवेदन २०७९, रेडियो नेपालको समावेशी प्रसारण प्रभावकारिता अध्ययन २०७९, रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक २०७९, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण २०७९ लगायत सम्बन्धित नीति, नियम, निर्देशिका र मापदण्डहरू निर्माण गरिएको सञ्चालक समिति बैठकमा जानकारी गराउनुभयो ।

सो अवसरमा सञ्चालक समितिका सदस्यहरुले रेडियो नेपालको प्रसारण सुधारमा कार्यकारी निर्देशक केसीले गर्नुभएका प्रयासहरूको बारेमा प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button