तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल सार्वजनिक विषयका सामग्री प्रसारणमा केन्द्रित छ : कार्यकारी निर्देशक केसी 

दाङ । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल सार्वजनिक विषयवस्तुका सामग्री उत्पादन र प्रसारणमा केन्द्रित रहेको बताउनुभएको छ ।

समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण प्रविधि तालिम एव व्यापार प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम अन्तर्गत तेस्रो दिन रेडियो नेपालका स्थानीय समाचारदाता तथा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गनुहुँदै कार्यकारी निर्देशक केसीले रेडियो नेपाल सार्वजनिक विषयवस्तुका सामग्री उत्पादन र प्रसारणमा केन्द्रित रहेको बताउनुभएको हो। 

समावेशी सामग्री उत्पादन र प्रसारणलाई ध्यान दिएको उल्लेख गर्दै उहाँले स्थानीय समाचारदाताले जनताको ध्यान केन्द्रित गर्ने सार्वजनिक विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुहुँदै यसका लागि रेडियो नेपालले पछिल्लो समय स्थलगत रिपोर्ट र स्थलगत कार्यक्रम उत्पादनलाई समेत ध्यानमा राखेर काम गर्न थालेको बताउनुभयो । 

रेडियो नेपालको आयोजनामा अबधी, पश्चिमा थारु र मगर खाम भाषाको कार्यपत्र प्रस्तुत गरिएको थियो । यसका साथै लुम्बिनी प्रदेशका स्थानीय समाचारदाता, विभिन्न स्टेसनका प्राविधिकलाई समेत तालिमको व्यवस्थापन गरिएको थियो । 

जेठ ९ गते लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुभएको अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, सञ्चालक समितिका सदस्य तिलकजङ्ग बुढाथोकी, नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, निर्देशक पुष्करराज गौतम, कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्ती, उपनिर्देशक जनार्दन बिष्टलगायत स्थानीय सम्वाददाता, प्रदेश कार्यालयका प्रमुख, विभिन्न स्टेसनका प्राविधिकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button