तपाईँ सुन्दै हुनुहुन्छः

ढुङ्गे बगैँचामा रमाउँदै पर्यटक (फोटो फिचर)

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धि खर्कबाट उत्तरतर्फ करिब १० किलोमिटर यात्रा गरेपछि अग्लो पहाडी थुम्कोमा पुगिन्छ । थुम्को भने ढुङ्गाको जङ्गलले भरिएको छ । फलामजस्तै काला ढुङ्गाको चट्टानले ढाकिएको जाल काँडा लेक ढुङ्गे जङ्गल अहिले देशी–विदेशी पर्यटक आकर्षित गर्ने ‘ढुङ्गे बगैँचा’ अर्थात् ‘रक गार्डेन’ को रूपमा विकास हुँदै गएको छ । सन्धिखर्क नगरपालिका–११ स्थित जाल काँडा अहिले रक गार्डेन नामले चिनिन थालेको छ ।

पहाडी भूमिमा अनेक आकृतिका काला ढुङ्गा फलामका मूर्ति बिछाएजस्तै देखिन्छन् । काला फलामे ढुङ्गाको संरक्षण गर्दै सन्धिखर्क नगरपालिका र वडा नम्बर ११ले रक गार्डेन बनाएर पर्यटकीय स्थलको रूपमा विकास गर्दै आएको छ । चिसो वातावरण र छिटो छिटो परिवर्तन हुने मौसममा देखिने ढुङ्गाको बगैँचामा जाने मानिसहरू आनन्दित हुने गरेका छन् । 

कलात्मक रूपमा मानिसहरूले आफै सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टानले जोकोहीको मन प्रफुल्लित बनाएको हुन्छ । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न र प्रचारप्रसार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

 चट्टानले ढाकिएको डाँडोलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने काम भइरहेको छ । नगरपालिकाको पूर्ववर्ती राजनीतिक नेतृत्वले रक गार्डेन बनाउने काम अघि बढाएको थियो । हालको नेतृत्वले त्यसलाई निरन्तरता दिएको वडा अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।

प्राकृतिक रूपले आकर्षक,रमणीय स्थल रक गार्डेनमा सदरमुकाम बाट पक्की सडक पुगेको छ । स्थानीय सरकारको योजना अनुसार पर्यटकीय रुपमा बिकास गर्न प्रदेश सरकारले समेत पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ । यस ठाउँको प्रवर्द्धनको लागि तिनै तहका सरकारले चासो दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

‘रक गार्डेनका रूपमा विकास हुँदै गएपछि आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेका छन्,’ स्थानीय बासिन्दा राजु आचार्य भन्छन्, ‘काला ढुङ्गाले भरिएको डाँडो व्यवस्थित गर्न सकिए पर्यटकको कमी हुँदैन भन्ने प्रष्ट भएको छ ।’

रक गार्डेनबाट उत्तरतर्फ विभिन्न हिमशिखरहरू अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ तराईको समथर भूभागसँगै लुम्बिनी प्रदेशका केही जिल्ला देखिन्छन् । प्रकृतिको वरदान भएर आएको ढुङ्गै-ढुङ्गाको डाँडालाई प्राकृतिक रूपमै सजाएर लाभ लिन सकिने स्थानीयहरूको विश्वास छ ।

ढुङ्गाभित्रै बोटबिरुवा, फूल, देवीदेवता जस्ता आकृति अनुभव गर्न सकिन्छ । प्रकृतिले आफैँ निर्माण गरेको यस क्षेत्र साँच्चिकै अचम्मको रहेको छ ।

गर्मी मौसममा चिसो हावा चल्ने र जाडोमा घाम लाग्ने भएकोले यहाँको वातावरण पर्यटकका लागि वर्षभरि नै अनुकूल मानिएको छ । जिल्लाको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने यो स्थानमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । विभिन्न बिदा तथा धार्मिक पर्व,उत्सवहरूमा रक गार्डेन जाने क्रम बढेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button