तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा भोलि ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गरिँदै

चितवन । चितवनमा भोलि सोमबार ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गरिने भएको छ । अस्कर इन्टरनेसनल कलेजले देशभर नै ‘सिनेमा साक्षरता अभियान’ सञ्चालनका क्रममा उक्त कार्यक्रम भोलि गरिने तय भएको हो ।

कार्यक्रम भरतपुरस्थित सप्तगण्डकी बहुमुखी कलेजमा गरिने अस्करका प्राध्यापक रामराजा दाहालले जानकारी दिनुभयो । कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र सिनेमाप्रति रुचि जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दाहालको भनाई छ ।

कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमाको इतिहास, चरित्रबारे जानकारी दिइनेछ । कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरूले तत्कालै एउटा कथालाई कसरी पटकथामा रूपान्तरण गर्ने कुरा पनि सिकाइने उहाँले बताउनुभयो ।

कागजमा लेखिएका कुरालाई कसरी श्रव्य दृश्यमा रूपान्तरण गर्न त्यहीँ नै प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक दाहालको भनाई छ । सिनेमाका गतिविधि काठमाडौँ केन्द्रित भएकोले मोफसल केन्द्रित गर्न यो अभियान थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button