तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटकीय स्थलहरूको विकासका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्छ’

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखराको पुरानो पर्यटकीय स्थल महेन्द्र गुफा र चमेरे गुफाको पूर्वाधार विकासको लागि तीन तहका सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

महेन्द्र गुफा र चमेरे गुफाको अवलोकन गर्दै प्रदेश प्रमुख भट्टले पोखरा पर्यटकीय राजधानी भइसकेको अवस्थामा पर्यटकीय स्थलहरूको थप विकासका लागि तिनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।

करिब ३ दशकपछि प्रसिद्ध महेन्द्र र चमेरे गुफाको अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गर्दै उहाँले गुफा क्षेत्रको विकासले फड्को मारेको बताउनुभयो । प्राकृतिक गुफालाई यसको पहिचान नमेटिने गरि संरक्षण गरिनुपर्नेमा जोड दिँदै प्रमुख भट्टले निर्माणाधीन संरचनाले थप आकर्षण दिने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा सञ्चालित दुवै गुफाको विषयमा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य एवम् महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले गुफा विकासको योजना र आगामी कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो ।

गण्डकी प्रदेश सरकारको सहयोगमा महेन्द्र गुफा सौन्दर्यीकरण परियोजना मार्फत निर्माणाधीन काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button