तपाईँ सुन्दै हुनुहुन्छः

चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्रीलाई बुझायो सुझावसहितको प्रतिवेदन

काठमाडौँ । चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न १५ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रममा प्रतिवेदनमा आएका सुझावहरूलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिवेदनमा जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने, नीतिगत निरन्तरता आवश्यक हुने, दुई देश वीच भएका विगतका समझदारीहरुलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने, चीनसँगका सीमा नाकाहरु खोल्ने र व्यवस्थित गर्न जोड दिनुपर्नेलगायतका सुझाव समेटिएका छन् ।

यस्तै, गरिवी निवारणका लागि चीनबाट पाठ सिकी ग्रामीण वस्तीहरुलाई सडक सञ्जालले जोड्ने, किसानहरुलाई मल, बीउ, उपकरण समयमा नै उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरुको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरु उपलब्ध गराउनुपर्ने, भूमि माथि राज्यको अधिकार बलियो हुनुपर्ने र नेपालमा चिनिया लगानीको वातावरण निर्माण गर्नु पर्ने सुझाव समेत प्रतिवेदनमा समेटिएको छ ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदहरूको टोलीले चीन भ्रमण गरी फर्किएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button