तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा ६४ जनामा डेंगु संक्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ ।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । डेङ्गु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन् । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो ।

डेङ्गु ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिनुभयो ।

त्यसपछि सन २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेङ्गुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button