तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस र एमालेबिचको सम्झौता संसदमा पेश हुनु नौलो पक्ष : नेता निधि

भक्तपुर । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धनको महत्त्वपूर्ण र नौलो पक्ष कांग्रेस र नेकपा एमालेबिचको सम्झौता संसदमा पेश हुनु रहेको बताउनुभएको छ ।

४२ औ बि.पि. स्मृति दिवसको अवसरमा आज नेपाली काँग्रेस क्षेत्र नं. २ भक्तपुरले कौशलटारमा आयोजना गरेको बि.पि. स्मृति सभामा उहाँले पार्टीहरूको बीचमा सरकार बनाउनका लागि भएको गठबन्धनको सम्झौता पत्र यसअघि संघीय संसदमा पेश नभएको बताउनुभयो ।

एमालेसँग नेपाली काँग्रेसको सात बुँदे सहमति भएको र त्यो सहमतिलाई प्रधानमन्त्री भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा पढेर सुनाएको बताउनुभयो ।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको ७ बुँदे सम्झौता संसदमा प्रधानमन्त्री ओलीले जस्ताको तस्तै पढेर सुनाउनुभएको र प्रति उत्तरमा सभापति देउवाले स्वीकार गरी सुनाउनुभएको बताउनुभयो ।

संसदमा सुनाउनु आधिकारिक रेकर्ड भएको भन्दै नेता निधिले सरकार २०८४ को निर्वाचनसम्म कायम रहने बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धनका बारेमा कुनै हल्ला र भ्रमको पछि नलाग्न कार्यकर्तालाई आव्हान गर्नुभयो ।

काँग्रेसका पूर्व उपसभापति समेत रहनुभएका नेता निधिले एमालेसँग भएको सात बुँदे सम्झौता अनुसार प्रधानमन्त्री ओली २ वर्ष प्रधानमन्त्री हुने र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताउनुभयो । त्यसपछि सभापति देउवाको नेतृत्वमा ०८४ को निर्वाचनसम्म सरकार रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले बि.पि.को सिद्धान्तबाट काँग्रेस विचलित नभएको चर्चा गदै तल्लो तहबाटै काँग्रेस एक ढिक्का भएर लाग्नु पर्ने औँल्याउनुभयो ।

आयोजक काँग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले माथिल्लो तहदेखि नै गुटबन्दी अन्त्य भई सिङ्गो काँग्रेस एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button