तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण–पूर्वी एसियामा बढ्दो हेपाटाइटिस सङ्क्रमणको रोकथाम आवश्यक : डब्लुएचओ

नयाँदिल्ली । विश्व स्वास्थ्य सङ्गठनले शनिबार दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ ।

हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’ जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार पछिल्लो समय यस क्षेत्रमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौथो ठुलो कारण बनेको छ । हेपाटाइटिस बी र सी सङ्क्रमणले यस क्षेत्रको लगभग ७५ प्रतिशत मानिसहरूको कलेजो फेल हुने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०२२ मा यस क्षेत्रका ७०।५ मिलियन मानिसले भाइरल हेपाटाइटिस बी र सी सङ्क्रमण सामना गरिरहेका थिए ।

विश्वव्यापी रूपमा हेपाटाइटिस बी र सीले प्रति दिन तीन हजार ५०० को मृत्यु हुने र प्रत्येक दिन छ हजार हेपाटाइटिसको नयाँ संक्रमित भेटिने गरेका छन् ।

कोभिड–१९ पछि सन् २०२२ मा सङ्क्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ । यद्यपि प्रारम्भिक उपचारबाट हेपाटाइटिस बी र सी सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस बी र सी परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस सङ्क्रमणबाट विशेषतः नवजात शिशु र बालबालिकाहरू उच्च जोखिममा छन् ।

“भाइरल हेपाटाइटिस यस दशकको प्रमुख जनस्वास्थ्य चुनौती हो। तर जनस्वास्थ्यको दृष्टिकोण र स्वास्थ्य क्षेत्रमा विश्वव्यापी लगानीको वृद्धिले सन् २०३० सम्ममा भाइरल हेपाटाइटिसको उन्मूलन सम्भव छ”, डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले बताउनुभयो ।

“आज जीवन बचाउनु र भावी पुस्ताको स्वास्थ्यको रक्षा गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो”, उहाँले भन्नुभयो । रासस / एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button