तपाईँ सुन्दै हुनुहुन्छः

‘नागरिकको भावना समेटेर साझा बाटोमा हिँड्नु अहिलेको आवश्यकता’

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र जीवन शैलीका रुपमा स्थापित हुनु आवश्यक भएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सभाको सोमबार सम्पन्न छैटौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताका चाहना र सङ्घीयताको औचित्य पुष्टि हुने गरी काम गर्ने जिम्मेवारी प्रदेश सांसद र सरकारको काँधमा रहेको बताउनुभयो ।

त्यस अवसरमा प्रदेश प्रमुख गुरुङले राजनीतिक दल र आम नागरिकको भावना समेटेर साझा बाटोमा हिँड्नु अहिलेको आवश्यकता भएको जनाउनुभयो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारका कारण सङ्घीयता भन्ने तर अधिकार भने सबै केन्द्रले राखेका कारण संविधानले दिएको अधिकार समेत प्रदेशले प्रयोग गर्न नपाएको गुनासो गर्नुभयो ।

साझा अधिकारका विषयमा संघीय तहले तर्जुमा गर्नुपर्ने आवश्यक कानुन तर्जुमा गर्ने कार्यमा जिम्मेवारी लिन र नेतृत्वदायी भूमिका निर्वाह गर्न संघ सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

सभामुख कृष्ण धितालले बनेका कानुन कार्यान्वयनमा जोड दिँदै प्रदेशको प्रगति र उन्नतिका लागि थप प्रभावकारी ढंगले रचनात्मक कानुनहरु ल्याउन आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले साधन स्रोत र अधिकार बाँडफाँडमा केन्द्रले ध्यान समेत नदिएको, साझा अधिकारका कानुनहरु नबनाइदिँदा प्रदेशले संविधानले दिएको अधिकार समेत प्रयोग गर्न नपाएको गुनासो गर्नुभयो ।

नेकपा माओवादी (केन्द्र) दलका नेता एवं पूर्व मन्त्री हरिबहादुर चुमानले संघ सरकारले कानुन बनाइदेला र हामी बनाउँला भनेर कुर्नुको साटो आवश्यक अनुसार कानुन बनाएर प्रदेश अघि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व सभामुख नेत्रनाथ अधिकारीले प्रदेशको अस्तित्व बचाउन जनताले देखिने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

०७२ सालमा जारी नयाँ संविधान पछि ०७४ सालमा सम्पन्न तीन तहको निर्वाचनपछि निर्वाचित गण्डकीका प्रदेश सभा सदस्यहरुले २०७४ माघ ७ गते आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । सभा सदस्यहरूको सपथ ग्रहणपछि २२ माघ ०७४ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशमा ६० जना प्रदेश सभा सदस्य हुनुहुन्छ । स्थापना कालदेखि हालसम्म प्रदेश सभाले प्रदेशको नाम र राजधानी तोक्नेदेखि विभिन्न ६४ बटा विधेयकहरू पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button