तपाईँ सुन्दै हुनुहुन्छः

प्रजातन्त्र प्राप्तिका लागि योगदान पुर्‍याउनेहरूलाई सदैव स्मरण गर्नुपर्छ : सभापति देउवा 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र प्राप्तिका लागि योगदान पुर्‍याउनेहरूलाई सदैव स्मरण गर्नुपर्ने बताउनुभएको छ ।  

नेपाली काँग्रेसले ७८ औँ स्थापना दिवसका अवसरमा पार्टी कार्यालय सानेपामा आज आयोजित श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रममा सभापति देउवाले प्रजातन्त्र प्राप्तिका लागि योगदान पुर्‍याउने योद्धाहरूका बारेमा सबै नेपालीलाई जानकारी गराउनुपर्ने बताउनुभयो । 

उपसभापति धनराज गुरुङले देश निर्माणका लागि अग्रजहरूले खेलेको भूमिकाको स्मरण गर्दै अहिले देश निर्माणका लागि योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेसको एकले अर्कोलाई सम्मान गर्ने इतिहास रहेको भन्नुहुँदै इतिहासलाई सम्झेर काँग्रेसका कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।

महामन्त्री गगनकुमार थापाले पार्टीले समुदायमा कांग्रेस अभियान घोषणा गरेको जानकारी दिनुहुँदै यही माघ १६ गते सबै नेता आफ्नो वडामा जानुपर्ने बताउनुभयो । उहाँले पार्टीको समुदायमा कांग्रेस अभियान सफल बनाउने कार्यमा पार्टी नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसले ७८ औँ स्थापना दिवसका अवसरमा प्रजातन्त्र प्राप्तिका लागि विभिन्न समयमा योगदान पुर्‍याउने अग्रज नेताहरूलाई सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टीको स्थापनाकालका सदस्य तथा प्रजातन्त्र प्राप्तिका लागि विभिन्न समयमा योगदान पुराउने योगप्रसाद उपाध्याय र नुतन थपलियालाई सम्मान गरेको हो । 

भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवस मनाए लगत्तै शनिबार (भोलि)बाट नेपाली काँग्रेसले  ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ । ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित गाउँ जाने र जनताका सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्ने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button