तपाईँ सुन्दै हुनुहुन्छः

हिउँदे अधिवेशनमा महत्वपूर्ण विधेयकहरू ल्याउने र पारित गराउने सरकारको प्राथमिकता : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हिउँदे अधिवेशनमा महत्वपूर्ण विधेयकहरू ल्याउने र पारित गराउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ससंदलाई सरकारले दिने बिजनेसको तयारी बारे सञ्चारकर्मीको जिज्ञासामा सञ्चार मन्त्री शर्माले समसामयिक रुपमा परिमार्जन गर्नुपर्ने तथा नयाँ बनाउनुपर्ने विधेयकहरू संसदमा धेरै भन्दा धेरै विधेयक ल्याउने र पारित गर्ने गरी सरकारको तयारी रहेको जानकारी दिनुभयो ।

यस्तै, सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को निर्वाचन लगायतका विषयमा देखिएको विवाद समाधान गर्न छानबिन समिति गठन गरेको छ । 

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव सदस्य रहेको  समिति गठन गरिएको बताउनुभयो ।

मन्त्री शर्माले निर्वाचनलगायतका विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी र निवेदनहरू, एनआरएन निर्वाचन विवाद र सङ्घको लेखा तथा काम कारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समय दिएको पनि बताउनुभयो  ।

यस्तै, धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गर्ने र रातो मछिन्द्रनाथ, सेतो मछिन्द्रनाथ, भैरवनाथ विष्केट जात्राका धार्मिक कार्यको रथ मर्मत सम्भारका लागि आवश्यक काठ गुठी संस्थानलाई उपलब्ध गराई रोयल्टी मिनाहा गने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।   

मन्त्रीपरिषद् बैठकले सम्झौता अनुसार हुने कार्बन व्यापारका लागि निर्धारित राष्ट्रिय निकायको रुपमा काम गर्न बन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिने र चलचित्र निर्माण प्रदर्शन तथा वितरण सम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button