तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधि विकासमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्न सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्न लागेको बताउनुभएको छ ।  

सातौँ सूचना प्रविधि दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले  कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको र कोषबाट सम्पादन गरिने कामले सूचना र प्रविधिको क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । 

पहिलोचोटी सरकारले नव प्रवर्द्धन कोषमा पुँजीगत बजेटको एक प्रतिशत छुट्ट्याउन लागेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले यसबाट युवा पुस्तामा सकारात्मक सन्देश प्रवाह हुने  बताउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै नागरिकमा सूचनाको पहुँच  पुगिसकेको भन्नुहुँदै यसको  प्रयोग सुरक्षित बनाउन सरकारले सचेतना अभियान चलाउने बताउनुभयो । 

मन्त्री शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानमा सूचना प्रविधि महत्वपूर्ण आधार हुने हुँदा यस क्षेत्रमा सरकारी र निजी क्षेत्रको लगानी वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पछिल्लो समय सूचना र प्रविधिको प्रयोग अनिवार्यजस्तै भइसकेको  बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधिको विकास र विस्तारमा निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो । 

यस अवसरमा सूचना प्रविधिको विकासमा योगदान पुर्याएको भन्दै नेस्नल आइसिटी अवार्ड एक्सिलेन्टबाट शैलेन्द्र गिरी र नेस्नल आइसिटी अवार्ड एक्सिलेन्ट महिलातर्फ लेना केशरी कंशाकारलाई रु एक लाख नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ । 

कार्यक्रममा सूचना र प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याउने विभिन्न सरकारी तथा नीजि क्षेत्रका सङ्घसंस्थालाई पनि सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button