तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताप्रति जनविश्वास बढाउनु आवश्यक : नेता कोइराला

विराटनगर । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई सम्मान गरेको छ । प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको एक कार्यक्रम मार्फत् नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले उहाँलाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

त्यस अवसरमा नेता शेखर कोइरालाले संविधानले दिएको अधिकार कार्यान्वयन हुन नसक्दा सङ्घीयतामाथि चौतर्फी प्रहार भइरहेको बताउनुभयो ।

उहाँले सङ्घीयताप्रति जनविश्वास बढाउनु आवश्यक रहेको भन्नुहुँदै त्यसका लागि सङ्घले प्रदेश र स्थानीय तहको अधिकार तलसम्म पुर्‍याउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले पिताजी कृष्णप्रसाद कोइरालाले राणाकालीन अवस्थामा राणाहरूसँग विद्रोह गरेकै कारण नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएको बताउनुभयो । सामाजिक परिवर्तनका बाटो अपनाएर गलत कुरामा असहमति जनाउँदै पिताजीले राणासँग विद्रोह गरेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा पूर्व–प्रधानन्यायाधीश श्रेष्ठले राणाकालीन अवस्थामा विद्रोह गरेर प्रजातन्त्र स्थापनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने पिताजी कृष्णप्रसाद कोइरालाको नाममा पाएको सम्मानले आफूलाई हर्षित बनाएको बताउनुभयो । पिताजी कृष्णप्रसाद कोइरालाका तीन जना छोरा मुलुकको प्रधानमन्त्री भइसक्नुभएको श्रेष्ठले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आर्थिक सामाजिक तथा राजनीतिक क्षेत्रमा मात्र नभएर शैक्षिक क्षेत्रमा समेत पिताजी कृष्णप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा परिषद्का अध्यक्ष प्राध्यापक कविराज न्यौपाने, नेपाली काँग्रेस विराटनगर नगर सभापति दिपक चापागाईँले पिताजी कृष्णप्रसाद कोइरालाको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button