तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री खड्काद्वारा प्रदेश सरकार र सुरक्षा प्रमुखसँग छलफल

सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते गएको भूकम्पपछिको उद्धार, राहत तथा अस्थायी आवास निर्माणका विषयमा कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बोलाएर छलफल गर्नुभएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भूकम्पपछिको उद्धार र राहतमा प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलहरूले पुर्याएको योगदानका लागि संघीय सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले भूकम्प पीडितहरूलाई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र भारत, चीन लगायतका देशका साथै अन्तर्राष्ट्रिय दातृ निकायहरू, गैरआवासीय नेपाली, स्वदेश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई तीनै तहका सरकार र भूकम्प पीडित जनताका तर्फबाट धन्यवाद ज्ञापन गर्दै भूकम्पबाट घाइते हुनु भएकाहरूको उद्धार र राहतको एक चरणको काम सकिएको बताउँदै अस्थायी आवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले भूकम्पमा खटिएका सुरक्षा निकायका अधिकृत तथा जवानहरूलाई खटिएको अवधिको गणना गरेर खाजा खर्च उपलब्ध गराउने निर्णय संघीय मन्त्रिपरिषद् बैठकले गरिसकेको जानकारी गराउनुभयो ।

छलफलमा सहभागीहरूले भूकम्पपछिको उद्धार र राहतमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले पुर्याएको योगदान र भूमिकाको प्रशंसा गर्दै पीडितहरूलाई तत्कालका लागि अस्थायी आवास निर्माणमा पनि यस्तै सक्रियताको अपेक्षा राख्नुभयो ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उपप्रधानमन्त्रीको नेतृत्वमा एकै दिनमा घाइतेहरूको उद्धार हुनुका साथै एक साताको अवधिमा पीडितहरूसम्म राहत सामाग्री पुर्‍याउन सकिएको बताउँदै अस्थायी आवास निर्माणमा पनि सक्रियताको खाँचो औँल्याउनुभयो ।

पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भूकम्प लगत्तै भएको उद्धार र राहतका कामले कर्णाली विपत्तमा पनि तत्काल काम गर्न सक्षम छ भन्ने देखाएको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको नेतृत्वले प्रदेश सरकारलाई काम गर्न सहज भएको बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले १० दिनसम्म कर्णालीमा रहेर पुर्याएको योगदान भूकम्प प्रभावित क्षेत्रका जनताका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तत्काल घाइतेहरूको उद्धार र राहतका कामले जनताले सङ्घीयताको प्रत्यक्ष अनुभूति गर्न पाएको बताउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालले भूकम्पका कारण प्रहरीका ४० वटा युनिटमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले क्षति पुगेका संरचनाहरूको निर्माणका साथै गाउँमा रहेका प्रहरी युनिटलाई सवारी साधनको व्यवस्था गरिदिन माग गर्नुभयो ।

उत्तर पश्चिम पृतना हेडक्वाटरका प्रमुख कृष्णदेव भट्टले भूकम्प पीडितहरूको उद्धार र राहत प्रभावकारी भएको बताउँदै अब अस्थायी आवास निवासका लागि समुदायलाई सक्रिय बनाइनुपर्ने बताउनुभयो । उहाँले प्राविधिक सहयोग र जनशक्तिका लागि सेना सधैँ तयार रहेको बताउनुभयो ।

कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले जाजरकोटमा गएको भूकम्पबाट घाइते भएकाहरूको उद्धार र राहतमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जस्तोसुकै विपत्तिमा पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल सक्षम रहेको बताउनुभयो । उहाँले भूकम्पमा घाइते हुनु भएका नागरिकहरूको उपचारका लागि सरकारले प्रदेश अस्पताललाई तोकेकोमा धन्यवाद दिनुभयो । ‘अस्पतालमा जति पनि बिरामीहरू आउनुभयो, हामीले उत्कृष्ट सेवा दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘उपचारका लागि आउनु भएका ४७ जना घाइते मध्ये ३७ जना डिष्चार्ज भइसक्नु भएको छ ।’

बैठकमा सशस्त्र प्रहरी बलका डिआइजी प्रदीपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभागका कर्णाली प्रदेश प्रमुख माधनप्रसाद तिमिल्सेना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button