तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

कास्की । विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो ।

पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार नवदुर्गा अवधिभर बिहानभरि सङ्गीतमय झाँकीसहितको श्रीमद्देवी भागवत ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिनेछ भने दिउँसोदेखि ज्ञानमहायज्ञ सुरु हुनेछ ।

विन्ध्यवासिनीदेखि सुरु हुने शोभायात्राले सहरका विभिन्न भाग परिक्रमा गर्नेछ । शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिँगारिएका नवकन्या सहितको रथ, झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरू, जल कलशसहित मातृ शक्ति, विभिन्न आमा समूहहरू, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैङ्क वित्तीय तथा सहकारी, शैक्षिक सङ्घसंस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत सङ्घलगायत सर्वसाधारणको उपस्थिति हुनेछ ।

महोत्सवका लागि समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको सूचना समन्वय उपसमिति संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विगतदेखि शक्ति स्थलका रुपमा पुजिँदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ ।

यहाँ विन्ध्यवासिनी गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । २०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रुपमा अध्यापन कार्य सञ्चालित छ । अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत चलाएको समितिको एम्बुलेन्स सेवा पनि सञ्चालित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button