तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

भैरहवा । बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ट एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा शुक्रबारदेखि प्रदर्शनी सुरु भएको हो । 

बौद्ध संस्कृति सम्मेलन तथा बीआरआईको १० औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले बेल्ट एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने बताउनुभयो । चिनियाँ बौद्ध भिक्षुयात्रीहरु फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरूले बताउनुभयो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले बौद्ध पुरातत्त्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरूको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताउनुभयो ।

बीआरआईको १० औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापना समेत भएको छ । चीनको यो महत्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो । क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्क रोड मार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको व्यवहारिक अनुसरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताउनुभयो । 

लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दर्शनको प्रवर्द्धन र अनुकरणमा पनि विश्वले काम गर्नुपर्ने बताउनुभयो । 

भियतनामी टेम्पलका प्रमुख डा. लामले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताउनुभयो । यी क्षेत्रका पहिचानमा चिनिया यात्रीहरूको भूमिकालाई बिर्सन नहुने उहाँको भनाई छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button