तपाईँ सुन्दै हुनुहुन्छः

भैरव पुरस्कार हास्य व्यङ्ग्यकार पौडेललाई प्रदान

काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार यस वर्ष हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिएको छ।

त्यसैगरी भैरव वाङ्मय पुरस्कार वरिष्ठ समालोचक साहित्यकार प्राध्यापक डाक्टर अभि सुवेदी र भैरव प्रतिभा पुरस्कार हास्यव्यङ्ग्यकार बद्रीप्रसाद दाहाल ‘भष्मासुर’ लाई प्रदान गरिएको छ ।

गुठीले आज आफ्नो कार्यालय जोरपाटीमा एक कार्यक्रम गरी ती पुरस्कार समर्पण गरेको हो । 

भैरव पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । त्यस्तै १ भैरव वाङ्मय पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ र  भैरव प्रतिभा पुरस्कारको राशि ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

भैरव पुरस्कार गुठीले स्थापना गरेका ती पुरस्कार गुठीका अध्यक्ष समेत रहनुभएका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले समर्पण गर्नुभएको हो ।

कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष साहित्यकार गोविन्द घिमिरेले भैरव अर्यालको व्यक्तित्व र साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो भने  गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गोकर्णेश्वर नगरपालिकालाई साहित्यिक हब बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले भैरव अर्यालको नाम जोडिएको पुरस्कार पाउनु गर्वको विषय भएको बताउनुभएको थियो ।

कार्यक्रममा “भैरव अर्यालका समीक्षा” तथा “अथ हाकिमोवाच”  कृतिहरू सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button