तपाईँ सुन्दै हुनुहुन्छः

भन्सारमा  काउन्टर थप्न नेपालगन्जका व्यवसायीको माग

बाँके । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाह नाका हुँदै आयात हुने खुद्रा सामानको भन्सारका लागि थप काउन्टर राख्न माग गरेको छ । हाल रहेका काउन्टरले भीड थेग्न नसकेको भन्दै अन्य काउन्टर थप्दा दैनिक लाखौँका राजस्व सङ्कलन हुने अवस्था रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले बताउनु भएको छ ।

धामीका अनुसार दैनिक लाखौँ मूल्यको खुद्रा सामान जमुनाह नाकाबाट आयात हुन्छ । त्यसरी आयात भएको सामानलाई भन्सारको प्रक्रियामा लैजानका लागि काउन्टरहरू थप गर्नुपर्ने माग उठेको हो । करारमै कर्मचारी भर्ना गरेर भए पनि भन्सार नियमन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

संघका अध्यक्ष धामीले केही दिनअघि उद्योग मन्त्री रमेश रिजाललाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा जमुनाह नाकाबाट अवैध रूपमा करोडौँको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्चाउनुपर्ने माग गरिएको छ । उक्त विषयमा माथिल्लो निकायमा पनि छलफल गरिने अध्यक्ष धामीले बताउनु भयो।

पटक–पटक विद्युत् जाँदा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरू बिग्रने समस्या धेरै भएकाले उद्योगहरूमा नियमित रूपमा सहज विद्युत् आपूर्ति व्यवस्था गर्न र उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैङ्क ब्याज उपलब्ध गराउनु पर्ने व्यवसायीको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button