तपाईँ सुन्दै हुनुहुन्छः

‘रेडियो नेपालको समावेशी प्रसारणमा समुदायको सहभागिता’ विषयक अन्तरक्रिया सुरु

विराटनगर I रेडियो नेपालको समावेशी प्रसारणमा समुदायको सहभागिता विषयक अन्तरक्रिया एवं समाचार उत्पादन तथा प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्बन्धी तालिम आज बाट सुरु भएको छ ।

विराटनगर महानगरपालिका–४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा तालिम एवं अन्तरक्रिया सुरु भएको हो । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण हुँदै आएको पूर्वेली थारु, राई बान्तवा तथा लिम्बु भाषाको समाचार तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा श्रोता समक्ष कार्यक्रमले पारेको प्रभाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा  रेडियो नेपालले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्नुहुँदै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विश्वसनीय र आधिकारिक माध्यमको रूपमा रहेको रेडियो नेपालले सबै भाषा भाषीको संरक्षण र संवर्द्धनमा जोड दिँदै आएको बताउनुभयो ।

उहाँले नेपालमा प्रसारण संस्थाको रूपमा अग्र स्थानमा रहेको रेडियो नेपालको इतिहास विराटनगर बाटै सुरुवात भएको र हाल रेडियो नेपाल सँग सहकार्यमा विभिन्न कामहरू गरिरहेकाले सधैँ साथ र सहयोगमा आफू तयार रहेको बताउनुभयो 

। उहाँले सबै जातजाति र समुदायको भाषा र संस्कृति लाई सम्मान गर्दै कोशीप्रदेश लाई समृद्ध बनाउन लाग्नुपर्नेमा जोड्दिनुभयो ।  कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा रेडियो नेपालले  खेलेको भूमिका तथा तारिणीप्रसाद कोइराला र रेडियो नेपालको विगत र हाल सम्मको अवस्था देखाउने वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रेडियो नेपालका निर्देशक पुष्करराज गौतमले रेडियो नेपालले भाषा,कला,संस्कृतिको क्षेत्रमा गरेका कार्यक्रमहरूले स्थानीय क्षेत्रमा परेको प्रभाव र सुधार गर्ने विषयमा जानकारीको लागि सहयोग पु¥याउने बताउनु भयो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख केशवराज सुवेदीले रेडियो नेपालले प्रसारण क्षेत्रमा पु¥याएको योगदान लाई सरकारले महत्त्व दिएको र रेडियोले आफलाई थप प्रतिस्पर्धी बनाउँदै जानुपर्ने उल्लेख गर्नुभयो ।

रेडियो नेपालका उपनिर्देशक तथा तालिम प्रमुख जर्नादन विष्टले कार्यक्रमको महत्त्व माथि प्रकाश पार्नुभएको थियो । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशिप्रदेश का अध्यक्ष लिला बल्लभ घिमिरेले रेडियो नेपालले भाषिक रूपमा समावेशिता लाई तल्लो तहसम्म पुग्ने गरी कार्यक्रम प्रसारण गर्दै आएको बताउनुभयो । 

सो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिंह ढाट क्षेत्रीको अध्यक्षतामा भएको थियो । 

अन्तरक्रिया कार्यक्रममा लिम्बु भाषामा दिलेन्द्रकुमार सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दिलकुमार थेबेले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । त्यस्तै राई बान्तवा भाषामा निराजन राईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सञ्जय सन्तोषी राई ले टिप्पणी गर्नु भएको थियो। पूर्वी थारु भाषाको कार्यपत्र श्रवण कुमार सुतिहार ले गर्नु भएको थियो भने गगन सिंह थारुले टिप्पणी गर्नु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button