तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराष्ट्रपति भण्डारीद्वारा आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आजभन्दा २१० वर्षअघि तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा जन्मिनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य आफ्नो समयका एक सचेत, जागरूक एवं प्रगतिशील व्यक्तित्व एवं उम्दा स्रष्टा भएको  बताउनुभयो। त्यस समयको समाजमा व्याप्त पछौटेपन एवं प्रशासनिक ढिलासुस्तीप्रति कविताको माध्यमबाट कटु व्यङ्ग्य गर्दै सामाजिक जागरणको पहल गर्नुभएको भण्डारीले बताउनुभयो । 

त्यसैगरी संस्कृत भाषामा लेखिएको वाल्मीकि रामायणलाई सरल एवं  काव्यिक मिठासले भरिपूर्ण नेपाली भाषामा उल्था गरेर नेपाली भाषाको विकास र विस्तारमा विशिष्ट योगदान गर्नुका साथै नेपाल र नेपाल बाहिर रहेका नेपाली भाषी समुदायका बीचमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गरी वृहत् नेपाली राष्ट्रिय भावनाको विकास र विस्तारमा भानुभक्तीय रामायणको अद्वितीय योगदान रहेको भण्डारीले बताउनुभएको छ ।

यस अवसरमा भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्‍याउनु भएको विशिष्ट योगदानलाई सम्मान गर्न उहाँको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन समेत नेपाल सरकारको ध्यान आर्कषण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button