तपाईँ सुन्दै हुनुहुन्छः

अम्रिसो निकासीमा यथार्थ मूल्य कायम 

भद्रपुर, झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ ।

व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकोमा हाल बजार मूल्यकै आधारमा निकासी गर्न यथार्थ मूल्य कायम गरिएको मेची भन्सार कार्यालयले जनाएको छ । 

यसअघि ‘अन्डर इन्भ्वाइसिङ’ गरेर अम्रिसो निकासी हुँदै आएको थियो ।

अम्रिसोको हालको बजार मूल्य सरदर प्रतिकिलो रू. १२२ रहेको छ । यथार्थ मूल्य नराखे निकासी रोक्ने चेतावनी दिएपछि व्यवसायीले अहिले प्रतिकिलो रू १२० मूल्य राखेर उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो । यसअघि प्रतिकिलो रु. ७० कायम गरेर निकासी हुँदै आएको थियो ।

व्यापारीले गत वर्ष पनि किसानबाट रू ११५ प्रतिकिलोले अम्रिसो किनेर मेची भन्सार कार्यालयबाट ४९ रुपैयाँ ६८ पैसा प्रतिकिलोका दरले भारत र बङ्गलादेश निकासी गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

व्यापारीले इलाम र पाँचथरका गाउँ–गाउँबाट सङ्कलन गरेको अम्रिसो झापाको बिर्तामोड, धुलाबारी, मेचीनगरका व्यापारीलाई केही नाफा राखेर बेच्ने गरेका छन् । 

झापाका व्यापारीले सामान्य ग्रेडिङ र प्याकेजिङ गरेर पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायतका मुलुकमा निकासी गर्ने गरेका छन् ।

अम्रिसोलाई गुणस्तरका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा छुट्याइन्छ । ग्रेडअनुसार मूल्य तोकेर निकासी गर्ने गरिएको छ । यसरी निकासी हुने कृषि वस्तुका लागि एउटा प्रज्ञापन पत्रमा ११३ रुपैयाँ भन्सार सेवा शुल्कबाहेक केही पनि तिर्नु पर्दैन । व्यापारीले स्वयम् घोषणा गरेको मूल्य नै भन्सार कार्यालयका लागि अन्तिम मूल्य हुन्छ ।

निर्यात गरेको वस्तुमा कम मूल्यको बिल बनाउँदा व्यापारीले पाउनुपर्ने बिल बाहेकको पैसा विदेशबाट हुन्डी या अरू माध्यमबाट ल्याउनुपर्ने हुन्छ । यसले अनौपचारिक कारोबारलाई बढावा दिने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button