तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा रोजगार मेला (फोटोफिचर)

धनकुटा । जागिर खोज्ने र जागिर दिनेहरूका बीचमा भेटघाट गराउने उद्देश्यले धनकुटामा आज रोजगार मेलाको आयोजना गरिएको छ । 

धनकुटा नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको एक दिने मेलालाई वृत्ति परामर्श तथा रोजगार मेला भनिएको छ । 

नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत मेलाको आयोजना गरिएको हो । 

मेलामा स्टल राख्न र प्रवेश गर्न निःशुल्क व्यवस्था गरिएको छ ।  मेलामा नगर क्षेत्रमा रहेका उद्योग÷व्यवसाय, बैङ्क तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहेका छन् । 

मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगार प्राप्त गर्न सकिने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिनुभयो । 

एकातिर रोजगारी कहाँ पाइएला भनेर काम खोजिरहेको युवा बेरोजगारको पङ्क्ति र अर्कोतिर कामदारको अभाव झेलिरहेका व्यवसायीहरूलाई एकै ठाउँमा भेटाउने मेलाको मूल उद्देश्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । 

उहाँले काम गर्न इच्छुक तर हातमा सिप नभएका युवालाई पनि रुचि अनुसारको सिपमूलक तालिमका लागि छनौट गरिने बताउनुभयो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको उहाँको भनाइ छ । 

मेलामा विभिन्न रोजगार प्रदान गर्नसक्ने ५३ वटा संस्था तथा व्यवसायले १ सय ६७ जना जनशक्ति माग गरेका छन् । 

माग बमोजिमका जनशक्ति आएमा नगरपालिकाको रोहबरमा सम्झौता गरेर रोजगार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button