तपाईँ सुन्दै हुनुहुन्छः

आँखा अस्पताललाई ग्रामीण क्षेत्रसम्म विस्तार गरिने

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आफ्नो सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाएको छ । 

अस्पतालले प्रविधिमैत्री भौतिक संरचनाका साथै दक्ष जनशक्तिको थप व्यवस्थापन गरी सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाइएको हो ।

सेवा विस्तार गर्दै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा स्थानीयस्तरमै पु¥याउने योजनका साथ आवश्यक कार्ययोजना बनाइएको अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नेपाल आँखा अस्पताल स्थापनाको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपाल आँखा अस्पताल हिजो, आज र भोलि’ विषयक अन्तक्र्रियामा उहाँले अस्पतालको सेवा दुर्गम जिल्लासम्म पु¥याउन जरुरी रहेको बताउँदै सबै जिल्लामा कम्तीमा पनि मोतिबिन्दुको शल्यक्रिया गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो ।

“स्तरीय ल्याबसहित आँखा उपचारमा विशिष्टीकृत सेवा दिइरहेको हाम्रो सेवालाई देशैभरि पु¥याउन नसके पनि जनघनत्व बढी भएका जिल्लामा सेवा विस्तार गर्न अनिवार्य भइसकेको छ”, डा पोखरेलले भन्नुभयो, “सेवालाई ग्रामीण भेगसम्म विस्तार गरेर बालबालिकामा हुने आँखासम्बन्धी जन्मजात रोगको समयमा नै पहिचान गरेर निदान गर्नसके भावी सन्ततिलाई लाभ पुग्छ ।”

देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँग सहकार्य गरी काम गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल अधिकृत डा कमलबहादुर खड्काले अस्पताले पूर्वाधार, उपकरणयुक्त सेवा स्तरीकरणमा ध्यान दिएको बताउँदै व्यवस्थापकीय पक्षमा सुधार गरी सेवालाई छिटो र छरितो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

अस्पतालका रिफ्याक्टिभ सर्जरी डा किशोर प्रधानले गुणस्तरीय दृष्टि आम नागरिकको अधिकार भएकाले हरेक छ महिनामा दृष्टि परीक्षण गरी आँखाको हेरचाहमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । उहाँले रिफ्याक्टिभ सेवाबारे नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा व्यवस्थापन दमनबहादुर घलेले सानो संस्थादेखि उच्च सरकारी निकायमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण रहेकाले व्यवस्थापकीय नेतृत्व व्यावसायिक भएमा मात्रै संस्थागत सुधार गरी प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले अस्पतालले भौतिक संरचनाका साथै दक्ष चिकित्सक र अत्यावश्यक उपकरणयुक्त सेवा दिइरहेको उल्लेख गर्नुभयो ।

विसं २०३० चैत २६ मा स्थापना भएको नेपाल आँखा अस्पतालले आइतबार स्थापनाको स्वर्ण महोत्सव मनाउँदैछ । अस्पतालले हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

हाल १४ नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतीबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारलगायत सेवा उपलब्ध छन् । हाल अस्पतालबाट दैनिक सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीका लागि निःशुल्क आँखा परीक्षणका साथै चस्मा वितरण गर्दै आएको जनाएको छ ।

अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम दिँदै आएको सचिव गजुरेलले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button