तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा सुत्केरी हुन नसकी  गर्भवती महिलाको मृत्यु 

बाजुरा । बाजुरामा सुत्केरी हुन नसकी एकजना महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर १ पिनालेख बस्ने रमेश बिक कि २६ बर्षीया श्रीमती जानकी विक लुहार रहेकी छन्। सुत्केरी हुन नसकी जिल्ला अस्पताल बाजुरामा ल्याइएकी जानकीको सोमबार राति बाटोमा मृत्यु भएको हो। 

बाजुरा अस्पतालमा उपचार सम्भव नभएको भन्दै रिफर गरिएकी जानकीलाई बसमा महेन्द्रनगर लैजाँदै गर्दा अछाम जिल्लाको  बाटोमै मृत्यु भएको श्रीमान् रमेश बिकले बताउनु भयो।दोस्रो पटक गर्भवती भएकी जानकीलाई अस्पताल बाजुराले रिफर गरेपछि बसमा महेन्द्रनगर लग्न लागिएको थियो ।

अछाम र डोटीको सिमाना चौखुट्टे पुगेपछि जानकीले  अफ्ठयारो भएको बताएकी थिइन। बस चालकले बसमा अप्ठ्यारो भएको र गर्भवती महिलाको ज्यान जोखिम भएको भन्दै जिप मार्फत अछामको बयलपाटा अस्पताल जान भनेपछि जिपमा बयलपाटा अस्पताल लैजाँदै गर्दा जानकीको बाटोमा मृत्यु भएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाका अनुसार गर्भवती महिलाको बाटोमै मृत्यु भइसकेको थियो । अस्पतालमा मृत्यु भएको शव मात्र पुर्‍याइएको उहाँले बताउनु भयो।बच्चाको पनि पेटमै मृत्यु भइसकेको थियो ढुङ्गानाले भन्नुभयो।बयलपाटा अस्पतालका अनुसार समयमै गर्भवती आमाको उद्धार हुन नसक्दा गर्भवती महिलाको मृत्यु भएको हो।

माघ ४ गते आफन्तले जानकीलाई अस्पताल बाजुरामा चेकजाँच गर्न ल्याएका थिए । अस्पताल बाजुराले औषधि दिएर घर पठाएको थियो । जानकीलाई सुत्केरी व्यथाले च्यापेपछि माघ ८ गते आइतबार पुनः अस्पताल बाजुरामा ल्याइएको थियो। अस्पताल बाजुराले जानकी मुटु रोगी भएकाले सुविधा सम्पन्न अस्पताल लग्न रिफर गरेको बताएको छ।आर्थिक अवस्था निकै कमजोर रहेको जानकीको परिवारले सोमवार मात्र बस मार्फत जानकीलाई महेन्द्रनगर लगेको थियो । एम्बुलेन्समा लिन पैसा नभएपछि बसमा टिकट काटेर महेन्द्रनगर हुँदै दिल्ली लैजाने योजना थियो तर बाटोमै श्रीमतीको मृत्यु भएको श्रीमान् रमेश विकले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button