तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूको रोजाई बन्दै ज्ञानकूप संस्कृत माध्यमिक विद्यालय

जनकपुरधाम । जनकपुरधामको याज्ञवल्क्य संस्कृत नमूना माध्यमिक विद्यालय ज्ञानकूपमा विद्यार्थीहरूको आकर्षण बढेको छ । 

उक्त विद्यालयमा भर्ना हुन आवेदन दिएका १ हजार १ सय ८ विद्यार्थीमध्ये कक्षा ४ देखि ९ सम्मका ७ सय १६ विद्यार्थीले प्रवेश परीक्षा दिएको प्रधानाध्यापक संजय कुमार झाले जानकारी दिनुभयो । बाँकी ३ सय ९२ जनालाई कक्षा १ देखि ३ सम्म विद्यालयले सोझै भर्ना गरेको छ । कक्षा ११ का लागि विद्यार्थी भर्ना गर्न बाँकी रहेको प्रधानाध्यापक झाले बताउनुभयो ।

विद्यालयको पठनपाठनमा सुधार गरेर तथा बिहानको समयमा अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गरेपछि विद्यार्थीको रोजाइमा ज्ञानकूप पर्न थालेको हो । विद्यालयले संस्कृतका साथै प्राविधिक शिक्षामा जोड दिएको छ । 

प्राविधिक शिक्षामा कम्प्युटर विषयको पढाई हुने गरेको छ । सुविधा सम्पन्न भवन, कम्प्युटर ल्याब, खेलकुद मैदान, योग्य शिक्षक, विद्यार्थी ओसारपसारका लागि विद्यालय बस, कुशल व्यवस्थापन, शान्त वातावरण तथा शहर भन्दा नजिक भएकाले ज्ञानकूप विद्यार्थीको रोजाई बनिरहेको छ । 

दुई सिफ्टमा सञ्चालनमा रहेको ज्ञानकूप संस्कृत नमूना माध्यमिक विद्यालयमा यसअघि नै २ हजार ४ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् । 

मौनी बाबाले निर्माण गरेको संस्कृत माध्यमिक विद्यालय विक्रम सम्वत् १९६६ सालमा स्थापना भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button