तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा जल उत्पन्न प्रकोप उद्धारसम्बन्धि कृत्रिम अभ्यास (फोटोफिचर)

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नेपालले जल उत्पन्न प्रकोप उद्धार सम्बन्धि कृत्रिम घटना अभ्यास बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा सम्पन्न गरेको छ । आउँदै गरेको वर्षा याममा हुन सक्ने जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको हो ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको आयोजनामा सम्पन्न बाहिनी स्तरीय कृत्रिम घटना अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्ज  बाँकेमा रहेको प्रदेश स्तरीय बिपद व्यवस्थापन टिम र सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण भालुबाङ्ग दाङका बिपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीहरूको संयुक्त टोलीले जल उत्पन्न प्रकोप उद्धार तथा व्यवस्थापन सम्बद्ध विभिन्न अभ्यासहरू प्रदर्शन गरेका थिए।

बाढी प्रभावित नागरिकहरूको उद्धार सम्बन्धि उक्त अभ्यासमा मेडिकल फर्स्ट रेस्पोन्डिङ्ग, बाढीमा फसेकाहरूको स्थानीय स्रोत साधनहरूको प्रयोगबाट उद्धार, डुङ्गाबाट उद्धार, रोप रेस्क्यू, पानी मुनी र पानी माथिबाट नदी पार, विभिन्न साधनहरूबाट चीन(अप क्यारी, हाई एङ्गल क्यारी आदि विधिहरूबाट उद्धार कला प्रस्तुत गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभ्यासमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य,  राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री  लगायत स्थानीय सरकारका जनप्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेश नारायणी नदी, तिनाउ नदी, राप्ती नदी, बबई नदी, कर्णाली नदी जस्ता मुख्य नदीहरू तथा अन्य स्थानीय नदीनालाहरूमा आउने बाढीका कारण प्रभावित रहँदै आएको छ।

यस प्रदेशमा हरेक वर्षा याममा जल उत्पन्न प्रकोपका कारण बर्सेनी हजारौँ नागरिकहरू प्रभावित हुनुका साथै जनधनको समेत क्षति हुने गरेको छ । यस्ता बिपद प्रकोपहरूबाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले जनचेतनामूलक कार्यहरूका साथै आन्तरिकरुपमा तालिम, अनुशिक्षण एवम् पूर्व अभ्यासहरू सञ्चालन गर्दै आएको छ । सशस्त्र प्रहरी बल नेपालसँग हाल लुम्बिनी प्रदेशमा १० जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button