तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सवारी दुर्घटनाबाट चार महिनामा ४८ जनाको मृत्यु

चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८, ०७९ को चार महिनामा सवारी दुर्घटनाबाट ४८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार साउन महिनामा ११ जना, भदौमा ७ जना , असोजमा २० जना र कात्तिक महिनामा १० जनाको मृत्यु भएको हो । सो अवधिमा ३०९ जना सवारी दुर्घटनाबाट घाइते भएका थिए । जसअनुसार साउन महिनामा ७५ जना , भदौमा ७३ जना , असोजमा ६९ जना र कात्तिक महिनामा ९२ जना घाइते भएका छन् । 

सबैभन्दा बढी मृत्यु भित्री सडकमा 

कार्यालयले दिएको तथ्याङ्क अनुसार सवारी दुर्घटनाबाट सबैभन्दा बढी मृत्यु भित्री सडकमा भएको पाइएको छ । जसअनुसार चार महिनाको अवधिमा भित्री सडकमा २१ जनाको मृत्यु र १२७ जना घाइते भएका छन् भने सो अवधिमा सहरी सडकमा एक जनाको मृत्यु र २३ जना घाइते भएका छन् । 

यस्तै दोस्रो सबैभन्दा बढी सवारी दुर्घटना पूर्व पश्चिम राजमार्गमा भएको छ । चार महिनामा उक्त राजमार्गमा १५ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । यस्तै नारायणगढ मुग्लिन सडकखण्डमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते र पृथ्वीराजमार्गमा सो अवधिमा ४ जनाको मृत्यु र ११ जनाको घाइते भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले पछिल्लो समय नारायणगढ मुग्लिनसडक खण्ड र शहरी सडक खण्डभन्दा भित्री सडक र लोक मार्गमा सवारी दुर्घटनाबाट मानवीय क्षति हुने गरेको बताउनु भयो । उहाँका अनुसार भित्री सडकमा ट्राफिक प्रहरीको कम पहुँच, चालकको लापरबाही र सडकको संरचनाले गर्दा बढी दुर्घटना हुने र मृत्यु र घाइतेको सङ्ख्या पनि सोही अनुपातमा बढेको हो । ‘पहिला नारायणगढ सडक खण्ड र शहरी क्षेत्रमा बढी सवारी दुर्घटना हुने गर्थ्यो उहाँले भन्नुभयो , पछिल्लो समय भित्री सडक र लोक मार्गमा बढी दुर्घटना भएको पाएका छौँ ।’ चालकको लापरबाही , यान्त्रिक गडबडी, तीव्र गति,  मापसे गरेर सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने भएका कारणपनि यस्ता सडकमा सवारी दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति हुने गरेको उहाँको भनाई छ । 

राजमार्ग र भित्री सडकमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले दुर्घटना थप प्राथमिकता दिई सवारी चेकजाँचमा कडाइ गर्दै लगिएको थापाले जानकारी दिनुभयो । 

कार्यालयका अनुसार चालु आवको साउन देखि कात्तिक महिनासम्म १७७ वटा सवारी दुर्घटना भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button