तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाका प्रथम प्रधानसेनापति बस्न्यातको दुई सय ७८ औँ स्मृति दिवस मनाइयो

कोड नम्बर १०५, काठमाडौं ।

नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्न्यातको दुई सय ७८ औँ स्मृति दिवस मनाइएको छ ।

बस्न्यातको स्मृतिमा जहरसिंह पौवास्थित उहाँको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै स्मृति दिवस मनाइएको हो । उहाँको सम्मानमा जहरसिंहपौवा बजारमाथिको डाँडामा गत वर्ष निर्माण गरिएको पूर्णकदको शालिक परिसरमा विभिन्न कार्यक्रम गरिएको थियो ।

वि.सं १७७१ मा गोरखामा जन्मिनुभएका शिवरामसिंहले एकीकरण युद्धको क्रममा वि.सं १८०३ मा साँगाचोकमा वीरगति प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानका प्रथम सेनापति साथै सो अभियानमा वीरगति प्राप्त गर्ने पहिलो सेनानायक बस्न्यात नेपाली सेना र सिङ्गो नेपालकै शान भएको बताउनुभयो ।

राष्ट एकिकरण गर्ने र राष्टलाई विदेशी वैरीहरूबाट जोगाएर राख्ने यी दुई महान कार्यमा होमिएका वीर पुर्खाहरुको योगदान र बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको बताउँदै उहाँले प्रथम प्रधानसेनापति बस्न्यातलाई नेपालीले बिर्सन नहुने र स्वर्ण अक्षरले इतिहास लेखिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा चेलीबेटी, बुहारीको पनि ठूलो भूमिका रहेको तर इतिहासमा स्थान नदिइएको भनी गुनासो गर्दै वीराङ्गना शुरप्रभा बस्न्यातको पनि शालिक निर्माण र सम्मान आवश्यक रहेको बताउनुभयो ।

विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्याङ्कन हुनु जरुरी रहेको भन्दै वीर पुर्खाहरुका नाममा स्थापित सबै सङ्घसंस्थाहरुलाई एउटै छानामुनि संस्थागत गर्नु उचित हुने विचार व्व्यक्त गर्नुभयो ।

विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले पहिलाका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेको तर अहिले व्व्व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै सिन्धुलीगढीको लडाइँ युद्धकलाको अनुपम नमूना भएको बताउनुभयो ।

शङ्खरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण सङ्ग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button