तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापति शिवरामसिंह बस्नेतको दुई सय ७८ औँ स्मृति दिवस मनाइयो

106

रेडियो नेपाल, काठमाण्डौं

नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्नेतको दुई सय ७८औँ स्मृति दिवस जहरसिंह पौवास्थित उनको सालिकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरी मनाइएको छ । बस्नेतको सम्मानमा जहरसिंह पौवा बजारमाथिको डाँडामा गत वर्ष निर्माण गरिएको सालिक परिसरमा विविध कार्यक्रमसहित स्मृति दिवस मनाइको हो ।

विसं १७७१ मा गोरखामा जन्मिनुभएका शिवरामसिंहले एकीकरण युद्धको क्रममा विसं १८०३ मा साँगाचोकमा वीरगति प्राप्त गर्नुभएको थियो । कार्यक्रममा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले सालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानका उहाँ प्रथम सेनापतिका साथै सो अभियानमा वीरगति प्राप्त गर्ने पहिलो सेनानायक भएको बताउनुभयो । बस्नेत नेपाली सेना र सिङ्गो नेपालकै शान रहेको समेत जानकारी दिनुभयो ।

राष्ट्र एकीकरण गर्ने र राष्ट्रलाई विदेशी वैरीहरुबाट जोगाएर राख्ने महान् कार्यमा होमिएका वीर पुर्खाहरुको योगदान र बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा महिलाको पनि ठूलो भूमिका रहेको तर इतिहासले स्थान दिनुपर्नेमा जोड दिदै वीराङ्गना शुरप्रभा बस्नेतको पनि सालिक र सम्मान आवश्यक रहेको बताउनुभयो ।

विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा हाम्रा पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्याङ्कन हुनु जरुरी रहेको बताउनुभयो । शङ्खरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण सङ्ग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रम आयोजक संस्था श्रीपाली बस्नेत समाज नेपालका अध्यक्ष पूर्वराजदूत डा निरञ्जन मानसिंह बस्नेतले शङ्खरापुर नगरपालिकाले उपलब्ध गराएको स्थानमा राष्ट्र एकीकरणमा सहभागी सबै वीर योद्धाहरुको सालिक, हतियार र परिचयसहितको सङ्ग्रहालय बनाइने र कीर्तिपुर मत्स्यगाउँमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापना गरिने कार्यक्रमबारे जानकारी दिनुभयो ।


प्रतिक्रिया राख्नुहोस्

Back to top button