तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा १० लाख ६१ हजार ५६० जनाले श्रम स्वीकृति लिए

बाँके । बाँकेमा चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म बाँकेमा वैदेशिक रोजगारको नाममा ठगी भएका ४७ वटा निवेदन दर्ता भएको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी)का अनुसार चालु आर्थिक वर्षको हालसम्म ४७ वटा वैदेशिक रोजगारको नाममा ठगी भएको तथ्याङ्क रहेको छ । यो परियोजनाको सम्पर्कमा आएका घटना मात्र हो ।

गत वर्षभन्दा वैदेशिक रोजगारको नाममा ठगी हुने समस्या बढेको कार्यक्रम संयोजक कमल सिंह नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत बर्ष ठगी सम्बन्धी १४ वटा निवेदन दर्ता भएको थियो ।”

सामीका अनुसार वैदेशिक रोजगारीमा गएकाहरू मध्ये बाँकेका ३ जना हराएका छन् । २९ जनालाई स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । ६ जना जेलमा रहेका छन् भने १८ जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका सामीका कार्यक्रम संयोजक नेपालीका अनुसार २९ जनाको उद्धार भएको छ भने रोजगारीमा जाने बेला भनिएको कामभन्दा फरक काममा लगाइएको र भनिएको भन्दा फरक तलब दिइएको १४ वटा घटना रहेका छन् । चालु आर्थिक वर्षमा वैदेशिक रोजगार सम्बन्धी १४० वटा समस्या देखिएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा १० लाख ६१ हजार ५ सय ६० जनाले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०६४/०६५ देखि चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा श्रम स्वीकृति लिएकामध्ये बाँकेमा मात्र ११ हजार २६ जनाले श्रम स्वीकृति लिएको संयोजक नेपालीले जानकारी दिनुभयो ।

लुम्बिनीमा सबैभन्दा बढी श्रम स्वीकृति लिने जिल्लामा रुपन्देही रहेको छ । त्यसपछि दाङ, कपिलबस्तु, गुल्मी र चौथोमा बाँके रहेको छ । रुपन्देहीमा २३ हजार २५९ जना, १५ हजार १०१ र गुल्मीमा ११ हजार १९१ जनाले श्रम स्वीकृति लिएका छन् ।

सामीका सामाजिक परिचालन अधिकृत घनश्याम वलीका अनुसार बाँकेका चार पालिका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित चार चार वटा वित्तीय साक्षरता कक्षामा ४०७ जना सहभागी भएका छन् । यस्तै सीप विकास तालिमका लागि नेपालगञ्जबाट १८, कोहलपुर ३९, खजुरा ९ र बैजनाथबाट २० जना सिफारिस भएका छन् ।

सामीले वैदेशिक रोजगारीका कारण सिर्जित मनोसामाजिक समस्यामा परेकाहरूलाई चालू आर्थिक वर्षमा नेपालगञ्जमा ३०, कोहलपुरमा ३०, बैजनाथमा ३२ र खजुरामा ३३ जना परामर्श दिएको संयोजक नेपालीले बताउनुभयो ।

वैदेशिक रोजगार बोर्डका सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button