तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो प्रधानसेनापति बस्न्यातको स्मृति दिवस मनाइयो

१०८

१५/ फाल्गून

नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्न्यातको दुई सय ७८औँ स्मृति दिवस जिहरसिंह पौवास्थित उनको सालिकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरी मनाइएको छ। बस्न्यातको सम्मानमा जहरसिंह पौवा बजारमाथिको डाँडामा गत वर्ष निर्माण गरिएको पूर्णकदको सालिक परिसरमा विविध कार्यक्रमसहित स्मृति दिवस मनाइको हो । विसं १७७१ मा गोरखामा जन्मिएका शिवरामसिंहले एकीकरण युद्धको क्रममा विसं १८०३ मा साँगाचोकमा वीरगति प्राप्त गरेका थिए ।

कार्यक्रममा अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले सालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानका प्रथम सेनापति साथै सो अभियानमा वीरगति प्राप्त गर्ने पहिलो सेनानायक बस्न्यात नेपाली सेना र सिंगो नेपालकै शान भएको बताए ।

राष्ट्र एकीकरण गर्ने र राष्ट्रलाई विदेशी वैरीहरुबाट जोगाएर राख्ने यी दुई महान् कार्यमा होमिएका वीर पुर्खाहरुको योगदान र बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको बताउँदै उनँले प्रथम प्रधानसेनापति बस्न्यातलाई नेपालीले बिर्सन नहुने र स्वर्णाक्षरले इतिहास लेखिनुपर्ने व्यक्तित्व भएको उल्लेख गरे
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा चेलीबेटी, बुहारीको पनि ठूलो भूमिका रहेको तर इतिहासमा स्थान नदिइएको भनी गुनासो गर्दै वीराङ्गना शुरप्रभा बस्न्यातको पनि सालिक र सम्मान आवश्यक रहेको बताइन् ।

विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा हाम्रा पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्यांकन हुनु जरुरी छ भन्दै वीर पुर्खाहरुका नाममा स्थापित सबै संघसंस्थाहरुलाई एउटै छानामुनि संस्थागत गर्नु उचित हुने विचार व्यक्त गरे ।

विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले पहिलाका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेको तर अहिले व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति मौलाउँदै गएको चर्चा गर्दै सिन्धुलीगढीको लडाइँ युद्धकलाको अनुपम नमूना भएको बताए ।

शंखरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण संग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रम आयोजक संस्था श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष पूर्वराजदूत डा। निरञ्जन मानसिंह बस्नेतले शंखरापुर नगरपालिकाले उपलब्ध गराएको स्थानमा राष्ट्र एकीकरणमा सहभागी सबै वीर योद्धाहरुको सालिक, हतियार र परिचयसहितको सङ्ग्रहालय बनाइने र कीर्तिपुर मत्स्यगाउँमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापना गरिने कार्यक्रमबारे जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button