तपाईँ सुन्दै हुनुहुन्छः

भूमिहीनको भवन पुनःनिर्माण हुने

गोरखा। गोरखा भूकम्पबाट क्षति भएका मकवानपुरका दुई हजार ६४९ जना भूमिहीन लाभग्राहीलाई घर पुनःनिर्माणको स्वीकृति दिइएको छ ।

भूकम्पबाट प्रभावित मकवानपुरका लाभग्राहीलाई साविककै स्थानमा दुई चरणमा घर निर्माण गर्ने स्वीकृति दिइएको हो । जिल्ला समन्वय समिति मकवानपुरको विशेष पहलमा भूमिहीन लाभग्राहीलाई घर निर्माणका लागि स्वीकृति दिइएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत गठित जिल्ला समन्वय समिति मकवानपुरका संयोजक तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले भूमिहीन लाभग्राहीलाई घर निर्माणको स्वीकृति दिइएको जनाएको छ ।

यसअघि बैठकले मकवानपुरमा एक हजार ६६६ जनालाई घर पुनःनिर्माणको स्वीकृति प्रदान गरिसकेको छ । बैठकले ५८९ भूमिहीन पूर्ण लाभग्राही र ३८४ लाई प्रवलीकरण लाभग्राही गरी ९७३ भूमिहीन लाभग्राहीलाई साविककै स्थानमा घर निर्माणको स्वीकृति प्रदान गरेको छ ।

हेटौँडा उपमहानगरपालिकामा २५३, बकैया गाउँपालिकामा १५५, मकवानपुरगढी गाउँपालिकामा ८५, मनहरी गाउँपालिकामा ६६, वाग्मती गाउँपालिकामा ११, भीमफेदी गाउँपालिकामा १०, राक्सिराँग गाउँपालिकामा चार, थाहा नगरपालिकामा तीन कैलाश गाउँपालिकामा एक र इन्द्रसरोवर गाउँपालिकामा एक गरी ५८९ जना भूमिहीन लाभग्राहीलाई आवास पुनःनिर्माणको स्वीकृति प्रदान गरिएको छ । पीडित लाभग्राहीलाई सार्वजनिक मुचुल्काका आधारमा स्थानीय तहको सिफारिसमा स्वीकृति दिने बताइएको छ ।

घर पुनःनिर्माणका लागि चार वर्षदेखि प्राधिकरणको निर्णय कुरेर बसेका भूमिहीन लाभग्राही भने यस निर्णयबाट खुशी भएका छन् । अब आफ्नो घर बन्नेमा ढुक्क भएका लाभग्राही छिटोभन्दा छिटो घर बनाउन शुरु गर्ने हेटौँडा– ९ का भूमिहीन लाभग्राही हरेराम परियार बताउनुहुन्छ । दशैँको मुखमा भएको यो निर्णयले दशैँमा झन खुशी थपेको बताउँदै उहाँ भन्नुहुन्छ, “अब घर बनाउने सपना त पूरा होला जस्तो छ तर त्यति रकमले भने अलि पुग्दैन यसका लागि थप रकम ऋण पनि उपलब्ध भए झन सुनमा सुगन्ध हुन्थ्यो ।” उहाँको परिवार हाल ऐलानी जग्गामा बनेको छाप्रोमा बस्न बाध्य छ । साथै भूमिहीन स्थानीय निकायमा सिफारिसका लागि पुगेको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button