तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको स्याउको प्रमुख विक्री केन्द्र नेपालगञ्ज

नेपालगञ्ज । नेपालगञ्ज बजार जुम्लामा फलेको स्याउको प्रमुख विक्री केन्द्रको रुपमा विकास हुदै गएको छ ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रै बजार पाएको छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्री गर्नमा व्यस्त छन् ।

जुम्लासम्म मोटरबाटो पुगेकाले अहिले सडकमार्ग भएर स्याउ ढुवानी गर्न थालिएको र हाल दैनिक एक ट्रक स्याउ ढुवानी हुने गरेको स्याउ व्यापारी बताउँछन् ।

नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल र तरकारीे थोकबजारमा जुम्ली स्याउको किनबेच भइरहेको छ । त्यहीँबाट फुटकर बिक्रेताले किनेर अन्य ठाउँमा स्याउ बिक्री गर्ने गरेको खुद्रा व्यापारी असलम अन्सारीले बताउनुभयो ।

नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहुले जुम्लाबाट एकै जातको स्याउ तीन वर्गमा विभाजित गरी नेपालगञ्ज ल्याउने गरेको जानकारी दिनु भयो ।

नेपालगञ्जका व्यापारीहरुले जुम्लाको स्याउ बर्दिया र कैलालीसम्म बिक्री गर्ने गरेका छन । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ प्रतिकिलो १०० देखि १५० सम्ममा बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button