तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छली भित्र्याइएको कपडा बरामद

झापा । झापाको पूर्वी नाका मेचीनगरबाट भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको लत्ताकपडा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापा, जिल्ला प्रहरी कार्यालय र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा आज ५१ पोका लताकपडा बरामद गरेको हो ।

संयुक्त टोलीले मेचीनगर–७ गैरीगाउँ र मेचीनगर–६ सालघारीको तीन ठाउँबाट आज बिहान ३८ लाख ४८ हजार ४७० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी तथा प्रवक्ता दिनेश कटुवालले जानकारी दिनुभयो ।

ती सामान कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको डिएसपी कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button