तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूको रोजाई बन्दै जनकपुरधामको ज्ञानकूप संस्कृत माध्यमिक विद्यालय

जनकपुरधाम । जनकपुरधामको सामुदायिक विद्यालय मध्ये याज्ञयवल्क्य संस्कृत नमूना माध्यमिक विद्यालय ज्ञानकूप प्रति विद्यार्थीहरूको आकर्षण बढेको छ । 

नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सकेको भोली पल्ट अर्थात् आज भएको विद्यालय प्रवेश परीक्षामा भारी सङ्ख्यामा विद्यार्थीहरू सहभागी भएर प्रवेश परीक्षा दिएका छन् । 

उक्त विद्यालयमा भर्ना हुनका लागि आवेदन दिएका १ हजार १ सय ८ जना विद्यार्थीहरू मध्ये कक्षा ४ देखि ९ सम्मका लागि भर्ना हुनका लागि ७ सय १६ जना नयाँ विद्यार्थीले प्रवेश परीक्षामा सामेल भएर परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले जानकारी दिनु भयो । बाँकी रहेका ३ सय ९२ जनालाई कक्षा १ देखि ३ सम्म विद्यालयले सोझै भर्ना गरेको छ । कक्षा ११ मा विद्यार्थी भर्ना गर्न अझै बाँकी नै रहेको  प्रधानाध्यापक झाले जानकारी दिनु भयो । 

विद्यालयको पठन पाठनमा सुधार गरेर तथा बिहानको समयमा अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गरेपछि विद्यार्थीको रोजाइमा ज्ञानकूप अब्बल नम्बरमा पर्ने गरेका छन् । विद्यालयमा संस्कृत मात्र पढाई हुँदा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून रहेका थिए । विद्यालयले संस्कृत शिक्षाका साथै प्राविधिक शिक्षामा जोड दिएको छ । 

प्राविधिक शिक्षामा कम्प्युटर विषयको अध्ययन अध्यापन गराउने गरेको छ । सुविधा सम्पन्न भवन, कम्प्युटर ल्याब, खेलकुद मैदान, योग्य शिक्षक, विद्यार्थी ओसारपसारका लागि विद्यालय बस, कुशल व्यवस्थापन, शान्त वातावरण तथा शहर भन्दा नजिक भएकाले ज्ञानकूप विद्यार्थीको रोजाई बनिरहेको छ । जनकपुरधामका हुने खाने परिवारका विद्यार्थीहरू पनि विद्यालयमा आ–आफ्ना छोरा छोरीको नामाङ्कन गर्ने गरेका कारणले विद्यालयमा विद्यार्थीहरूको चाँप बढेको छ । 

दुई सिफ्टमा सञ्चालनमा रहेको ज्ञानकूप संस्कृत नमूना माध्यमिक विद्यालयमा यस अघि नै २ हजार ४ सय ३२ जना विद्यार्थीहरू भर्ना भएर अध्ययनरत रहेका छन् । सबै विद्यार्थीहरूको व्यवस्थापन तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि चुनौती भएपनि यसलाई विद्यालयले अवसरको रुपमा लिँदै करारमा शिक्षक माग गरेको छ भने भौतिक पूर्वाधारको व्यवस्थापनका लागि लागी परेको छ ।  

मौनी बाबाले निर्माण गरेको संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षाका साथै विश्वको मागलाई ध्यानमा राखेर अङ्ग्रेजी तथा कम्प्युटर शिक्षा दिन थालेको छ । नेपालकै सबै भन्दा पुरानो अर्थात् विक्रम सम्बत १९६६ सालमा स्थापना भएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button