तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरी छोटी भन्सारको स्तरोन्नति गर्न पहल गर्ने  : मन्त्री भट्ट

कञ्चनपुर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको बेलौरी छोटी भन्सारको स्तरोन्नति गर्न पहल गर्ने बताउनु भएको छ । बेलौरी भन्सार नाका स्तरवृद्धिको माग गर्दै ज्ञापनपत्र बुझाउन गएको बेलौरी उद्योग वाणिज्य संघको टोलीसहितको प्रतिनिधि मण्डललाई आश्वस्त पार्दै मन्त्री भट्टले बेलौरी नाकाको समस्याबारे आफु जानकार रहेको उल्लेख गर्नुभयो ।
उहाँले सुदूरपश्चिम सहित समग्र देशको आर्थिक विकासमा सकारात्मक भएर  लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । आइतबार बिहान कैलालीको अत्तरियास्थित मन्त्री भट्टकै निवासमा पुगेर सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरीसहितका नेताहरू र बेलौरी उद्योग वाणिज्य संघको टीमले छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको हो ।
वि.सं. २०१९ सालमा कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सारिएपछि दक्षिणी क्षेत्रको विकासक्रममा बाधा पुगेको प्रदेश सभा सदस्य कुलबीर चौधरीको बुझाइ छ । उहाँले बेलौरी भन्सार नाकासहित समग्र विकासको लागि मन्त्री भट्टलाई आग्रह गर्नुभएको छ ।
त्यसै क्रममा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले प्रदेश सदरमुकाम धनगढीदेखि पश्चिम २२ किलोमिटर दुरीमा मात्रै रहेको बेलौरी भन्सारको स्तरवृद्धि नहुँदा व्यापार व्यवसाय र आर्थिक कारोबारमासमेत समस्या भएको बताउनुभयो । उहाँले नाकाको स्तरवृद्धि नभएका कारण सामान्य भन्सार तिर्न पनि महेन्द्रनगरको गड्डाचौकी वा कैलालीको गौरीफन्टा नाका जानुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पल्लव राज भट्टले बेलौरी भन्सार नाकालाई प्रदेशकै मुख्य नाकाको रुपमा विकसित गराउनु पर्नेमा जोड दिँदै कञ्चनपुरको दक्षिणी क्षेत्र तर्फ जोड्ने हुलाकी सडकखण्ड, बेलौरी–कलुवापुर सडकखण्ड लगायतको स्तरोन्नति संगै दक्षिणी क्षेत्रसहित कञ्चनपुरको औद्योगिक आर्थिक विकासका क्षेत्रमा आफ्नो तर्फबाट पहल गरिदिन आग्रह गर्नुभएको छ ।
भेटघाटमा बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरी, इटा व्यवसायी समितिका अध्यक्ष बलदेव सिंह बुडाललगायतले आफ्नो धारणा राख्नुभएको थियोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button