तपाईँ सुन्दै हुनुहुन्छः

कालोपत्रेको माग राख्दै गरिएको चक्काजाम स्थगित

कञ्चनपुर । कञ्चनपुरको बेलौरी–कलुवापुर सडकखण्ड कालोपत्रेको माग राख्दै बेलौरी शान्तिपुरका स्थानीयद्वारा गरिएको चक्काजाम मंगलबार बिहानदेखि तीन दिनसम्मका लागि स्थगित गरिएको छ । शान्तिपुरका नागरिकहरुले आइतबार दिउँसोदेखि उक्त सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाएका थिए ।

सोमबार साँझ बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल र सडक निर्माण कम्पनी सन्तोषी–थेगिम जेभी कैलालीका प्रतिनिधि हेम सुब्बासंग आन्दोलनरत पक्षले छलफल गरेपछि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति बनेको हो । स्थानीयले आन्दोलन स्थगित गरेपछि सवारी आवागमनमा सहजता भएको छ ।

सडक निर्माण कम्पनी सन्तोषी–थेगिम जेभी कैलालीका प्रतिनिधि हेम सुब्बाले तीन दिनमा उक्त सडकखण्डमा काम शुरु गर्ने प्रतिबद्धता जनाएपछि तीन दिनका लागि विरोधका कार्यक्रम स्थगित गरिएको र तीन दिनमा काम शुरु नभएको खण्डमा थप सशक्त आन्दोलन चर्काउने आन्दोलनरत पक्षका महादेव पाण्डेयले चेतावनी दिनुभयो ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उक्त सडकखण्ड लामोसमयसम्म संघीय सरकार मातहत रहेको र गत वर्ष प्रदेश सरकार मातहत रहने गरी पठाइएकोमा स्थानीय सरकारको तर्फबाट बारम्बार समन्वय र छलफल भइरहेको बताउनु भएको छ ।
स्थानीय सरकारले जनताको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन निरन्तर छलफल र बहस गरिरहेको स्मरण गराउँदै उहाँले अझैपनि काममा ढिलाई भए आफु स्वयं आन्दोलनको नेतृत्व गर्दै प्रदेश सरकार समक्ष जान तयार रहेको उल्लेख गर्नुभयो ।

नगर प्रमुख चौधरीले आफुहरु सडक बन्नु पर्छ भन्ने पक्षमा रहेको र निरन्तर लागिरहेकोले उक्त सडकखण्डमा कसैले पनि गलत नियतले राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

संघीय सरकारले तीन वर्ष पहिले ठेक्का दिएको सडकखण्ड एकाएक गतवर्ष प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि उक्त सडकखण्ड निर्माणको कार्य झनै अलपत्र अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरीको बुझाइ छ । केन्द्रले दिएको ठेक्का अवधि नसकिँदै बिना बजेट उक्त सडकखण्ड प्रदेश सरकारलाई हस्तान्तरण गरिएको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले समेत चालुआर्थिक वर्षको बजेटमा बेलौरी–कलुवापुर–नाइल–बुडर सडकखण्ड नाम दिई प्रदेशको गौरवको योजनामा राखेपनि जम्मा तीन करोड मात्रै बजेट विनियोजन गरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो ।

सत्तापक्षकै प्रदेश सभा सदस्य रहनु भएका चौधरीले आफुले बारम्बार यो विषयमा प्रदेश सभा र डेलिगेशन मार्फत सरकारको ध्यानाकर्षण गराएपनि कुनै प्रगति नदेखिएको बताउनुभयो ।

झण्डै चार दशकदेखि कालोपत्रेको पर्खाइमा रहेको बेलौरी–कलुवापुर सडकखण्ड निर्माणमा बारम्बार यहाँका नेताहरुले चुनावी नारा बनाएर जनतालाई झुक्क्याउने र ठेकेदारले समेत बेलाबेलामा सडक निर्माण गर्छु भन्दै प्रतिबद्घता जनाएर सर्वसाधारणलाई झुक्याएको स्थानीयको आक्रोश छ ।
केही वर्ष पहिले कालोपत्रे गरिएको शान्तिपुरदेखि बेलौरी बजारसम्मको पुरानो कालोपत्रे सडक समेत नयाँ बनाउने भनी भत्काएर ठेकेदारले जनतालाई झन् दुःख दिएको भन्दै सर्वसाधारणले ठेकेदारलाई कारवाहीको माग गरेका छन् ।

कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेका लागि वि.सं. २०७३ भदौ १७ गते सन्तोषी थेगिम जेभि, कैलाली नामको निमार्ण कम्पनीसंग वि.सं.२०७५ भदौ १५ गतेसम्म कालोपत्रे गरिसक्नु पर्ने ठेक्का सम्झौता भएको थियो ।

भ्याट बाहेक १६ करोड ११ लाख सम्झौता रकम रहेको उक्त सडकखण्ड ७.५ मीटर चौडाई रहनुपर्ने र ५.५ मीटर चौडाई कालोपत्रे गरिनुपर्ने उल्लेख छ । पूर्वपश्चिम राजमार्गसँग दक्षिणी क्षेत्र जोड्ने जम्मा २७.५ किलोमिटर लम्बाई रहेको उक्त महत्वपूर्ण सडकखण्ड स्तरोन्नती नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने उक्त सडकखण्डका कारण उनीहरुको दैनिकीमा नै नराम्रो असर परिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button