तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण विधेयकमाथि दफावार छलफल सुरु 

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि दफावार छलफल सुरु भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सरकारले प्रस्तुत गरेको विधेयकले सार्वजनिक सेवा प्रसारणलाई नै जोड दिएको स्पष्ट पार्नुभयो । 

मन्त्री शर्माले अरू सञ्चार माध्यमलाई समेट्ने अलग्गै  कानुनहरू रहेकाले सार्वजनिक सेवा प्रसारणकै दृष्टिकोणबाट विधेयक ल्याइएकाले सोही अनुसार छलफल गर्न सकिने बताउनुभयो । 

सांसदहरुले गोरखापत्रलाई पनि उक्त विधेयकले समेट्नुपर्ने विचार व्यक्त गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री शर्माले समितिमै छलफल गरेर विधेयकलाई समृद्ध बनाउन  आग्रह गर्नुभयो 

बैठकमा  सांसदहरु देवेन्द्र पौडेल,  बद्री पाण्डे, विद्या भट्टराई, छविलाल विश्वकर्मा, डाक्टर चन्द्रकान्त भण्डारीलगायतले सार्वजनिक सेवा प्रसारण वा सार्वजनिक सेवा मिडिया भन्नेमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । 

आजको बैठकले विधेयकको प्रस्तावना र दफा तीन सम्मका प्रावधानहरू सर्वसम्मतिले पारित गरेको छ ।  

समितिका सभापति अम्मरबहादुर थापाले विधेयक आएको पाँच वर्ष भइसक्दा पनि निष्कर्षमा पुग्न नसकेको भन्दै अब लगातार बैठक बसेर सार्वजनिक सेवा प्रसारण विधेयक पारित गरिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button