तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा एमाले लागेको छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल 

वीरगंज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काँग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नेकपा एमाले नरहेको बताउनु भएको छ । 

प्रेस चौतारी नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश र जनताको पक्षमा एमाले सदैव उभिँदै आएको परिणाम स्वरूप हालै सम्पन्न उपनिर्वाचनमा एमालेले सफलता हात पारेको बताउनु भयो । 

राष्ट्रिय अखण्डता र नेपाल र नेपाली जनताको स्वाभिमान जोगाउन तथा मुलुकको समृद्धिका लागि  एमालेको विकल्प नभएको दाबी गर्दै राष्ट्रिय अखण्डताको रक्षा र मुलुकको समृद्धि एमाले बाहेक अन्य राजनीतिक दलबाट हुन नसक्ने बताउनु भयो । उहाँले मुलुकको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षाका लागि छिमेकी देशलाई गाली गरेर समस्या समाधान नहुनेपनि बताउनुभयो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले छिमेकीलाई गाली गर्नुको साटो उनीहरूसँग आँखामा आँखा जुधाएर कुरा गर्दै समस्याको समाधान गर्ने हिम्मत एमालेमा भएको बताउँदै अघिल्लो गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको कारण नयाँ गठबन्धन बनेको दाबी गर्नु भयो । 

अहिले गठबन्धनको सरकारलाई अलमलिने र जनतालाई निराशा बनाउने छुट नभएको दाबी गर्दै जनताका अपेक्षा पुरा गर्न सरकार दृढ सङ्कल्पका साथ अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभयो । 

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिट ब्यूरो सदस्य अच्युत मैनाली, केन्द्रिय सदस्यहरु प्रभु हजारा, राजकुमार गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button