तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको जिपी कोइराला अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक एक सय सिलिण्डर उत्पादन क्षमता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । गत पुष २७ गतेदेखि नै अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन पनि सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्लान्टको दैनिक उत्पादन क्षमता एक सय सिलिन्डर हो । ‘अहिले भने अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौँ,’ कार्यकारी प्रमुख श्रेष्ठले भन्नुभयो ’अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

उहाँ अगाडी थप्नुभयो ’अब अक्सिजन आवश्यक पर्ने बिरामीका आफन्त अक्सिजन खोज्दै हिँड्नुपर्ने छैन ।’ अहिले अस्पताल संग सानो÷ठुलो गरेर २ सय वटा अक्सिजन सिलिण्डर रहेको डा. श्रेष्ठ बताउनुहुन्छ ।

उक्त अक्सिजन प्लान्ट दुई करोड १८ लाख रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण भएको अस्पतालका कार्यकारी प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो।

दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएर संक्रमणदर उच्च विन्दुमा पुगेको बेला देशभर अक्सिजनको हाहाकार भएपछि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले रहेको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट पठाएको थियो । तर प्लान्ट जडानमा ढिलाइ भयो ।

अस्पताल नजिक रहेको विद्युतको ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन जडानमा तीन महिना ढिलाइ भएको कार्यकारी प्रमुख डा.श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘टेन्डर गरेर नयाँ ट्रान्सफर्मर जडान गर्दा अक्सिजन प्लान्टमा निर्माणमा केही महिना ढिलाइ भयो ।’

आइसोलेसन तयारी अवस्थामा

जिपीमा जिल्लाका स्थानीय तहले कोरोना सङ्क्रमितका लागि छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमा फैलिएपछि आइसोलेसनलाई तयारी अवस्थामा राखिएको अस्पतालका कार्यकारी प्रमुख डा.श्रेष्ठले बताउनुभयो।

अस्पतालमा ३० बेडको आइसोलेसन छ । प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच बेड आईसीयू र तीन बेड भेन्टिलेटर छ । अस्पतालकोआइसोलेसनमा पहिलो चरणको कोरोनामा २७७ सङ्क्रमितले सेवा लिए । दोस्रो चरणमा २२२ जना सङ्क्रमितले सेवा लिएको अस्पतालले जनाएको छ ।

अक्सिजन बिक्री सुरु

हाल आवश्यकता अनुसार उत्पादन भइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा उत्पादित अक्सिजन बिक्री समेत गरिने डा. श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अक्सिजन सिलिण्डर लिएर आउनेलाई भरेर पठाइएको छ । साथै हालको अवस्थामा बिरामीको अवस्था हेरेर सिलिण्डर सहित अक्सिजन दिइएको उहाँ बताउनुभयो । उहाँले भन्नुभयो ’सानो १० लिटरको भर्न २ सय रुपैयाँ र ठुलो ४० लिटरको सिलिण्डर भर्न ५ सय रुपैयाँ लाग्छ । यदि सिलिण्डर नै लैजाने भए सानोको १० हजार धरौटी र ठुलोको १५ हजार धरौटी राख्नुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button