तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनमा प्राप्त जनमतको नेपाली काङ्ग्रेसले कदर गरेको छ: प्रमुख सचेतक लेखक।

कञ्चनपुर। नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले भर्खरै सम्पन्न भएको उपनिर्वाचनको मत परिणामलाई नेपाली काङ्ग्रेसले सकारात्मक रूपबाट लिएको बताउनु भएको छ । गृह जिल्ला कञ्चनपुर पुग्नु भएका लेखकले मङ्गलवार बेलौरीमा रेडियो नेपालकर्मीसँग कुराकारी गर्दै इलाम २ मा भएको प्रतिनिधि सभा सदस्य र बझाङ १ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा प्राप्त जनमतको नेपाली काङ्ग्रेसले कदर गरेको बताउनु भयो । २०७९ मा भएको निर्वाचनमा गठबन्धन सहित चुनावमा जाँदा बझाङ १ को प्रदेशमा निर्वाचन जितिएको र इलाम २ को प्रतिनिधि सभामा थोरै मतान्तरले पराजित हुनु परेको स्मरण गर्दै प्रमुख सचेतक लेखकले अहिले एक्ला एक्लै चुनावमा जाँदा नेपाली काङ्ग्रेसले प्राप्त गरेको मत विगत भन्दा सुधारात्मक रहेको सुनाउनु भयो ।

आसन्न बजेट अधिवेशनमा नेपाली काङ्ग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने प्रश्नमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले गएको अधिवेशनमा नै लाखौँ मानिसहरूले सहकारी संस्थाहरूमा बचत गरेको अर्बौँ रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको लगायत काङ्ग्रेसले उठाएका केही महत्त्वपूर्ण विषयवस्तुलाई सम्बोधन नगरी सरकारले अधिवेशन नै बन्द गरेको आरोप लगाउनु भएको छ । आउँदो अधिवेशनमा जानु पूर्व काङ्ग्रेस लगायतका प्रतिपक्षी दलले उठान गरेका विषयवस्तुलाई सरकारले नजरअन्दाज गरेमा अधिवेशनमा कठिनाइ उत्पन्न हुने र त्यसको जिम्मेवार सरकार स्वयं हुनुपर्ने उहाँले चेतावनी दिनुभयो । नेपाली काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा जोडिनु भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको नभई संसदीय छानबिन समिति बनाई अनुसन्धान गर्नुपर्ने माग गरेको र सरकार त्यसका लागि तयार हुनुपर्ने उहाँले प्रस्ट्याउनु भयो । यसका साथै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट, विपक्षीको भावनालाई समेट्न सरकारले देखाउने व्यवहारका आधारमा काङ्ग्रेसले भूमिका निर्वाह गर्ने लेखकले बताउनु भयो ।

राजनीतिक अस्थिरता धेरै भएकोले अब दुई ठुला दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर सङ्घीय सरकार र प्रदेश सरकार बनाउनु पर्ने आम जनभावना देखिएकोले त्यसलाई नेपाली काङ्ग्रेसले सकारात्मक रूपमा हेरेको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । यद्यपि यस सम्बन्धमा ठोस छलफल भने सुरु भई नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button