तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका फुटबल: बकैया र भीमफेदी विजयी

मकवानपुर । मकवानपुरमा शनिवारबाट जारी जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बकैया गाउँपालिका र भीमफेदी गाउँपालिका विजयी भएको छ । 

आज भएको पहिलो खेलमा बकैयाले कैलाशलाई शून्यका विरुद्ध दुई गोल र दोस्रो खेलमा भीमफेदीले राक्सिराङ गाउँपालिकालाई एकको विरुद्ध तीन गोल अन्तरले पराजित गरेका हुन् । 

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौँडा–४ स्थित हुप्रचौरमा जारी प्रतियोगिता अन्तरगत पहिलो खेलमा बकैयाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित ८० मिनेटको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको पनि दोस्रो हाफमा बकैयाले सुधारिएको खेल प्रदर्शन गर्दै ७४ औँ मिनेटमा नवराज तामाङको गोलबाट खेलमा अग्रता लिएको थियो । 

खेलको अतिरिक्त समयको १ मिनेटमा बकैयाका अभिषेक भ्लोनले गोल गर्दै जीत सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दि म्याच पहिलो गोलकर्ता नवराज घलान घोषित भए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा भीमफेदीले राक्सिराङलाई एकका विरुद्ध तीन गोल गरेर विजयी भएको छ । निकै प्रतिस्पर्धात्मक पहिलो हाफको २० औँ मिनेटमा भीमफेदीका सागर थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको दोस्रो मिनेटमै भीमफेदीका सन्दीप गोलेले अर्को गोल गर्दै टिमको जित सुनिश्चित गरे । 

अतिरिक्त समयको पहिलो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै भीमफेदीलाई विजयी बनाए । राक्सिराङको तर्फबाट भने खेलको दोस्रो हाफको २५ औँ मिनेटमा पूरण ठकुरीले सान्त्वना गोल गरे पनि हारलाई टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता भीमफेदीका सन्दीप गोल घोषित भए । 

प्रतियोगिता अन्तरगत भोलि सोमबार दुई खेल हुने छ । भोलिको पहिलो खेल ईन्द्रसरोवर गाउँपालिका र बागमती गाउँपालिका तथा दोस्रो खेल थाहा नगरपालिका र मकवानपुर गढी गाउँपालिका बिच हुने आयोजकले जनाएको छ । 

आजको खेलमा आयोजक जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, अखिल नेपाल फुटबल संघका (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, फुटबल सङ्घ मकवानपुरका अध्यक्ष टिका लामा लगायतको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button