तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा रेड पाण्डाको प्रजनन् केन्द्र

तस्विरः छोकुमको निर्माणाधिन सडकमा भेटिएको रेड पाण्डा

दोलखा। दोलखाको उच्च हिमाली क्षेत्रलाई रेड पाण्डाको प्रजनन् केन्द्रको रुपमा विकास गर्न गौरीशङ्कर संरक्षण क्षेत्रले परामर्श सुरु गरेको छ ।

दोलखाको हिमाली क्षेत्रमा रेडपाण्डाको संख्यामा बृद्धिहुदै गएको र मानव वस्ति आसपास समेत रेडपाण्डा देखिन थालेपछि प्रजनन् केन्द्रको बारेमा परामर्श सुरु गरिएको संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताउनु भयो ।

केहि समय अघि दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्वु छोकुममा निर्माणधिन सडकमा हिडिरहेको अवस्थामा स्थानियले रेड पाण्डालाई भेटेका थिए । यसरी वस्ति आसपास रेडपाण्डा देखिनुले यसको संख्यामा बृद्धि भएको सङ्केत गरेको स्थानिय पासाङ शेर्पा बताउनु हुन्छ ।

विगतमा यसरी रेडपाण्डालाई खुलेआम हिडेको देखेको थिईन पासाङले भन्नु भयो– सडक निर्माणको क्रममा मानिसको नजिकबाट आरामसंग रेडपाण्डा हिडेको देख्दा यसको संख्यामा बृद्धि भएको अनुमान गर्न सकिन्छ । झण्डै ३५ सय मिटरको उँचाईमा रहेको मार्वुको छोकुम क्षेत्रमा उल्लेख्यमात्रामा रेडपाण्डा रहेको अनुमान स्थानियको छ ।

भालु प्रजातिमा पर्ने रेडपाण्डा अत्यन्त लजालु जनावर हो । मानव वस्ति र गाडी गुडने सडकमा रेडपाण्डा भेटिनु संयोगमात्र हुनसक्ने पोखरा विश्व विद्यालयका उपप्राध्यापक डा. नारायणप्रसाद कोजु बताउनु हुन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्यन अनुसन्धान कार्यक्रमको क्रममा दोलखाको उच्च हिमाली भेगमा लामो समय बस्नु भएका डा. कोजु दोलखाको उच्च भेगमा रहेको रेड पाण्डाको वासस्थानलाई प्राकृतिक रुपमा संरक्षण गरी रेड पाण्डा प्रजनन् केन्द्र सञ्चालन गर्न सकिने बताउनु हुन्छ । तर रेड पाण्डा लजालु जनावर भएकोले बन्द घरमा राखेर प्रजनन् केन्द्र बनाउन भने कठिन हुने डा. कोजुको भनाई छ ।
समुन्द्र सतहबाट दुई हजार दुई सय देखि चार हजार मिटरसम्मको उँचाईमा रहने रेड पाण्डा रुखहरुमा बस्ने र किरा फट्याङ्ग्रा तथा कमलो निगालो खाने गर्छ । रातो, सेतो, कालो रङ्गको सानो आकर्षक रेड पाण्डा अधिकतम सात आठ केजीसम्मको हुने डा. कोजु बताउनु हुन्छ ।

रेड पाण्डाको प्रजनन् समय चैत्र बैशाख महिना हो । गर्भावस्था भएको तीन महिनामा रेड पाण्डाले बच्चा जन्माउने गर्दछ । एउटा रेड पाण्डाले एक पटकमा दुईवटासम्म बच्चा जन्माउने डा. कोजु बताउनु हुन्छ । दोलखामा रेड पाण्डाको प्रजनन् केन्द्र बनाउने हो भने प्रजनन् हुने समय बैशाख जेठ र बच्चा जन्माउने समय असार साउनमा रेड पाण्डाको वासस्थान आसपास मानिसको प्रवेश निशेध गर्ने र रेड पाण्डालाई आवश्यक पर्ने खानेकुराहरुको व्यवस्थापन गरिदिनुपर्ने डा. कोजु बताउनु हुन्छ ।

रेड पाण्डा निकुञ्ज ऐनमा संरक्षित सूचीको बन्यजन्तुमा राखिएको छ भने साईटिसको अनुसूचि १ र आयुसिएनको रातो किताबमा अति सङ्कटापन्न सूचिमा सूचिकृत गरिएको छ । दोलखा जिल्लामा विगतमा थोरै संख्यामा रहेको रेड पाण्डाको संख्या गौरीशङ्कर संरक्षण क्षेत्र बनेपछि क्रमशः बढ्दै गएको र अहिले ५०÷६० वटा पुगेको अनुमान गरिएको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख शाह बताउनु हुन्छ । दोलखाको उच्च हिमाली भेगमा रेड पाण्डको प्रजनन् केन्द्र बनाउन सकिए यसको संरक्षणमा महत्वपुर्ण टेवा पुग्न सक्ने प्रमुख शाह बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button