तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो ओखलढुङ्गा महोत्सव सुरु

ओखलढुङ्गा । दोस्रो ओखलढुङ्गा महोत्सव सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडिबुटीसहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि दोस्रो ओखलढुङ्गा महोत्सव सञ्चालन गरिएको हो । 

ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले ५ वर्षअघि पहिलो ओखलढुङ्गा महोत्सव आयोजना गरेको थियो । त्यसैको निरन्तरता स्वरूप आयोजना गरिएको दोस्रो ओखलढुङ्गा महोत्सवको आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उद्घाटन गर्नुभयो । 

महोत्सव उद्घाटन गर्दै जिल्लाका सांसद समेत रहनुभएका सभापति खतिवडाले जिल्लाको समृद्धि र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सम्बोधनका क्रममा उहाँले बजेट बिना कुनै पनि योजना आयोजनाको शिलान्यास नगर्ने बतउनुभयो । बजेट बिना नै शिलान्यास हुने आयोजनाहरू अलपत्र अवस्थामा पुगेकाले पहिले बजेट व्यवस्थापन गरेर मात्र शिलान्यास गर्ने उनको भनाई थियो । 

कार्यक्रममा संविधानसभा सदस्य यज्ञराज सुनुवारले ओखलढुङ्गा जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई प्रवद्र्धन गरेर समृद्धिको आधारका रुपमा विकास गर्न सकिने बताउनुभयो । मेला महोत्सव जस्ता कार्यक्रमले पर्यटन विकासमा टेवा पुग्ने उहाँको भनाई थियो । आफु प्रतिनिधिसभाको सांसद हुँदा जिल्लामा पर्यटन विकासमा उल्लेख्य काम गरेको उहाँको दाबी थियो। 

सदरमुकाममा सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिकसहितको सिद्धिचरण पार्क निर्माण, श्रष्टापार्क तथा सर्जकहरूको प्रतिमा स्थापना, थोलेदेम्बा र पोकली झरनालाई नेपालका सय गन्तव्य सूचिमा सूचिकृतलगायतका दर्जनौँ साना ठुला पर्यटकीय क्षेत्र विकासका काम गरेको उहाँको भनाई थियो । ‘मेला महोत्सव जस्ता कार्यक्रमलाई केवल रमाइलो र औपचारिकतामा मात्रै सीमित राख्नुहुँदैन । यस्ता कार्यक्रम गाउँ ठाउँको विकास र जिल्लाको समृद्धिसँग जोड्न सक्नुपर्छ ।’ सुनुवारले भन्नुभयो, ‘थोलेदेम्बा र पोकली झरनामा महोत्सव आयोजन गरियो । त्यसपछि त्यहाँ पूर्वाधार विकास र प्रचार प्रसारले गति लियो । नेपालको सय गन्तव्य सूचिमै राखियो त्यसपछि पर्यटकको आवागमन बढ्यो ।’ सगरमाथाको प्रवेशद्वारमा पर्ने ओखलढुङ्गामा सोलुखुम्बु र हलेसी आउने पर्यटक पनि घुम्ने र रम्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई थियो ।  

दोस्रो ओखलढुङ्गा महोत्सवलाई जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरुले समेत सम्बोधन गर्नुभएको थियो । गाउँपालिका प्रमुखहरुले आ आफ्नो पालिकाले पर्यटन विकासमा नीतिगत काम गरिरहेको बताउनुभएको थियो ।

दोस्रो ओखलढुङ्गा महोत्सव वैशाख १५ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको आकर्षणका रुपम दिनहुँ ख्यातिप्राप्त कलकारहरूको प्रस्तुती, जातीय समुदायको झाँकी, स्थानीय उत्पादन र १५० भन्दा बढी स्टलहरू राखिएको छ । जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने ओखलढुङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । पहिलो महोत्सवको समीक्षा गरेर थप परिष्कृत ढंगले दोस्रो महोत्सव सञ्चालन गरिने उहाँको भनाई छ ।

ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घको आयोजना तथा एआई के ग्रुप काठमाडौँको सह आयोजनामा महोत्सव सञ्चालन भएको हो । 

महोत्सव उद्घाटन सत्रमा गाउँ गाउँबाट सदरमुकाम आएर जातीय समुदायले झाँकी प्रदर्शन गरेका थिए । यद्यपि उपस्थिति न्यून थियो । 

विगतका महोत्सवहरूमा पनि कलाकारको प्रस्तुतिमा दर्शक बढी हुने र अतिथिको मन्तव्य सुन्नेको सङ्ख्या कम हुने गरेको थियो । 

महोत्सव स्थलमा प्रवेशका लागि विद्यार्थी र वृद्धवृद्धा बाहेक सबैलाई एक सय रुपैयाँ टिकट तोकिएको छ । ५ वर्ष माथिका विद्यार्थीले परिचयपत्र र ज्येष्ठ नागरिकले वृद्धभत्ता कार्ड लिएर गएमा ३० प्रतिशत छुट दिइने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button