तपाईँ सुन्दै हुनुहुन्छः

इन्टर भेन्सनल रेडियोलोजी विधिबाट बिरामीको सफल शल्यक्रिया

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ४ गोवरडिहा निवासी ४८ वर्षीय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया गरिएको हो । प्रतिष्ठानका रेडियोलोजिष्ट डा. बम विसि, अर्का रेडियोलोजिष्ट डा. विपिन खनाल, सर्जन डा. आत्मानन्द वर्मा, डा. उत्सवसहितको चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको टोलिले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल शल्यक्रिया गरिएको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा. रमेश कँडेलले जानकारी दिनुभयो ।

शल्यक्रियामा संलग्न चिकित्सक रेडियोलोजिष्ट डा.बमले यसअघि चिरेर मात्रै यस्ता खाले शल्यक्रिया हुने गरेकोमा हाल रेडियोलोजी अन्तरगत इन्टर भेन्सनल रेडियोलोजी विधिबाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताउनुभयो । बिरामी पेट दुखेपछि प्रतिष्ठान उपचारको क्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिष्ट डा. विपिनले भिडियो एक्सरेको सहायतामा बिरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिष्ट, सर्जनसहितको स्वास्थ्यकर्मी र नर्सको टोलिले नचिरेर सफल शल्यक्रिया गरेको जानकारी दिनुभयो ।

‘पहिले–पहिले कलेजो, किड्नीमा जमेको पिप निकाल्न चिरेर नै शल्यक्रिया गरिन्थ्यो,त्यो अत्यन्तै जटिल पनि मानिन्थ्यो–डा. बमले भन्नुभयो–‘ कलेजोको पिप निकाल्न पनि विगतमा पेट चिरेर अप्रेसन गरेर निकालिन्थ्यो, अहिले पनि नयाँ उच्च प्रविधि प्रयोग गर्दै अहिले रेडियोलोजी अन्तरगत इन्टर भेन्सनल रेडियोलोजी विधिबाट उपचारात्मक सेवा दिन सफल भयौ, चिर्नु पनि परेन, घाउ पाक्ला भन्ने बिरामीलाई समस्या पनि भएन, यो विधि धेरै राम्रो मानिएको छ ।’ यो सजिलो विधिबाट अप्रेसन गर्दा बिरामीलाई बेहोस पार्न नपर्ने, सामान्य छाला लट्ठ्याएर उपचार गर्न सकिने, छिटोछरितो उपचार हुने, अस्पताल बस्नु नपर्ने र घाउ पाक्ने समस्या पनि नरहने कामु निर्देशक डा. कँडेलले बताउनुभयो । बिरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्य देखी जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराइले बताउनुभयो । सूचना अधिकारी भट्टराइले कलेजो, किड्नीमा पिप जम्नुका साथै सुन्निएका गरेर हालसम्म ६ वटा सफल शल्यक्रिया यही विधिबाट गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button