तपाईँ सुन्दै हुनुहुन्छः

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने :राष्ट्रपति पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पार्नुभएको छ ।

जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘राजनीतिक अस्थिरताको श्रृङखलाले यो देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु,’ तपाइहरूको राजनीतिमा मेरो भन्नु केही छैन तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो, प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ”, उहाँले भन्नुभयो, “ तपाईँहरूले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईँहरूसँग कबुल गर्दछु ।

” उहाँले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्दै भन्नुभयो, “ एउटा जिपी कोइराला श्वास प्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र अर्को संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यान, यसैले यो तनहुँलाई विशिष्ट जिल्ला बनाउँछ । ” उहाँले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्याय क्षेत्रको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो,“ विकासको काम रोकेर कानुनको कुरा नगरौँ, न्याय पनि जनताको पक्षमा हुनुपर्छ यो मेरो सुझाव र सल्लाह हो।”

राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले त्यसको लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकूल शिक्षा नीति जरुरी छ भन्नुभयो । “त्यसैले सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

रोजगारी र शिक्षाको लागि शहर पस्ने र शहर हुँदै बिदेसिने प्रवृत्ति बढी रहेका बेला स्थानीयस्तरमै विद्यालय हुँदै क्याम्पस तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदानगर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधानले प्रत्याभूत गरेअनुरूप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी हो जसले भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्छ भन्नुभयो ।

“ज्ञानको शक्ति र सामर्थ्य व्यापक र विराट छ, भूमण्डलीकरण र विश्वव्यापीकरणको आधुनिक युगमा प्राविधिक, व्यावसायिक र प्रतिस्पर्धी शिक्षा दिन सरकार, नीति निर्माता र शिक्षासँग सरोकारवालाहरुले एक भएर सोच्नुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले पठनपाठन र ज्ञान आर्जनको परम्परागत शैली र ढर्रालाई त्यागेर नीति निर्माण र योजना तहमा बस्नेले ग्लोबल भिलेजको जमानमा जहाँ कही बस्ने र जहाँसुकै पुग्नेलाई प्रतिस्पर्धी, योग्य, स्वरोजगार, स्वावलम्बी र आत्मनिर्भर हुने खालको शिक्षा दिन सक्नुपर्दछ भन्नुभयो ।

राष्ट्र प्रेम र देशभक्ति त छदै छ देश निर्माण गर्ने एक अनुशासित, सीप वान र शील वान नागरिक तयार गर्ने संस्कार र शिक्षा दिन जरुरी रहेको आफूलाई लागेको उहाँको भनाइ थियो । सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशक अघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुसीको विषय भएको प्रसङ्ग उल्लेख गर्दै तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाट समेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भीमाद बजार र सेरोफेरो गुलजार हुँदै गएपछि यहाँका शैक्षिक संस्थाको महत्व बढ्नु स्वभाविक भएको र यस क्षेत्र बिस्तारै सडक, शिक्षा र सञ्चारसँगै विकासको बाटोमा अघि बढेको छ भन्नुभयो । भीमादबाट रिसिङ, भीरकोट हुँदै चितवन र रिसिङ राम्जाकोट, पिपलटार हुँदै नवलपरासीसम्मको फराकिलो सडक पूर्वाधार बनाएर उत्तर र दक्षिणका छिमेकी देशलाई जोड्ने सम्भावनातर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

“निर्माणाधीन १४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाले यस क्षेत्रको पर्यटकीय आकर्षण बढाउन योगदान दिनेछ”, उहाँले भन्नुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button